शिक्षकलाई जनकारबाहीस्वरूप जनश्रमदानमा खटाईयो !

२०७७ श्रावण १७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बैतडीको पर्चौडी नगरपालिका ३ न्वादेउ भवानी मावि नौलामा कार्यरत शिक्षक राजेन्द्रबहादुर बोहराले जाँडरक्सी पिएर स्थानीय महिला र बालबालिकामाथि अभद्र व्यवहार गरेको निष्कर्ष निकाल्दै जनकारबाहीस्वरूप सडक निर्माणमा जनश्रमदानमा खटाएको छ । नेकपा बैतडीका इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले साउन १६ गते शुक्रबार प्रेस विज्ञप्ति जारी गरी पार्टीले गरेको जनकारबाहीसम्बन्धी निर्णय सार्वजनिक गरेका हुन् । किरण र परिवर्तनद्वारा जारी विज्ञप्तिअनुसार पियक्कड र विलासी स्वभावका शिक्षक बोहराका गलत आनीबानीबारे स्थानीय जनसमुदायले गरेको रिपोर्टका आधारमा अनुसन्धान गर्न गएको अखिल क्रान्तिकारी बैतडीका अध्यक्ष सुरेन्द्र धानुकको नेतृत्वको टोलीमाथि दुव्र्यवबहार गर्दै बोहराले धानुकको टाउकोमा लठ्ठीसमेत प्रहार गरेका थिए ।
विज्ञप्तिमा जनाइएअनुसार मावि नौलाका शिक्षक राजेन्द्र बोहरा बर्सौंदेखि आफ्नै विद्यार्थीहरूमाथि यौनशोषण गर्दै आएको गुनासो सम्बन्धित विद्यालयका शिक्षकशिक्षिका, अभिभावक र विद्यार्थीले गर्दै आएका थिए । छात्राहरूमाथिको यौनशोषण र जाँडरक्सी पिएर दादागिरी मच्चाएको विषय प्रहरी चौकी हाँटलाई राम्रोसँग थाहा हुँदाहुँदै पनि तथाकथित कम्युनिस्ट सरकारको आडमा प्रहरी चौकी हाँटले घूस खाएर अपराधीलाई संरक्षण गरेको कुरा पुर्चौडीबासीले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी र अखिल क्रान्तिकारी बैतडीले जँड्याहा तथा बलात्कारी शिक्षक राजेन्द्र बोहराको उक्त घिनलाग्दो कार्यको घोर निन्दा तथा भत्र्सना गरेका छन् । अखिल क्रान्तिकारी बैतडीका अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी बैतडीको नेतृत्वमा खटिएको टोलीले पीडित स्थानीय बासिन्दाको उजुरीमा बैतडी जिल्लाको पुनपा ३ साँफे बजारमा जँड्याहा तथा यौनपिपाशु शिक्षक राजेन्द्र बोहरालाई जनकारबाहीस्वरूप कालोमोसो दली कान समातेर उठबस गर्न लगाएर मावि नौलादेखि साँफे बजारसम्म जनश्रमदानस्वरूप २० दिनसम्म बाटो निर्माणमा खटाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु