सोलुखुम्बु इन्चार्ज मणिसुन्दरको नियोजित हत्या : निष्पक्ष छानबिन गर्न माग

२०७७ श्रावण १७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले आफ्नो पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले हत्या गरी फालेको हुनसक्ने भन्दै उक्त घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गरेको छ । नेकपाका सगरमाथा ब्युरो इन्चार्ज अनुभव क्रान्तिले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै २७ महिना लामो कारागार बसाइबाट साउन १ गते उदयपुरबाट रिहा भएर सोलुखुम्बुको थुलुङ दूधकोसी देउसा पुगेको केही दिनमै साउन १४ गते साँझ मणिसुन्दरलाई मृत अवस्थामा भेटिएको भन्दै उनको हत्यामा सरकारी पक्षको हात रहेको बताएका छन् ।
अनुभव क्रान्तिको विज्ञप्तिमा भनिएको छ, ‘घरनजिकैको बुद्धिडाँडा बजारमा गएर फर्किने क्रममा सरकारी पक्षले नियोजित तरिकाले हत्या गरी फालेको अवस्थामा भिरमा लास भेटिएको छ । लासको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्या गरी फालेको प्रस्ट हुन्छ ।’
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज रहेका राई २७ महिना लामो कारागार बसाइपछि साउन १ गते रिहा भएको र घर भेटघाटमा गएको बेला मृत फेलापरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु