नेकपाद्वारा आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा नगरे कडा प्रतिरोधमा उत्रने चेतावनी

२०७७ श्रावण १७ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले पार्टी ब्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सङ्गम, बिष्णुप्रसाद भट्टराई, नाथुप्रसाद थारुलगायत आफ्नो नेता कार्यकर्ता तथा शुभचिन्तकलाई तत्काल रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने बताएको छ । नेकपाले पार्टी नेता कार्यकर्तासँगै ‘हतियार भेटिएको’ समाचार झुठा र अनर्गल प्रचार भएको बताएको छ ।
लुम्बिनी ब्युरो इन्चार्ज भीमले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै साउ १६ गते पक्राउ परेका आफ्ना नेता कार्यकता तथा शुभचिन्तकलाई रुपन्देही जिल्लाको बुटवलबाट प्रहरीले कायरतापूर्ण गिरफ्तार गरेको यो घटनाले सिङ्गो पार्टी पंक्तिलाई स्तब्ध र आक्रोशित बनाएको बताएको छ ।
विज्ञप्तीमा इन्चार्ज भीमले सुकुम्बासी बस्तीमा स्थानीय जनताका समस्याबारे छलफल गरिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै देश कोरोना सङ्कट र प्राकृतिक विपत्तिले भयावह भइरहेको बेला केपी–प्रचण्ड नेतृत्वको सामाजिक फासीवादी सरकारले पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई हतियार भेटिएको भनि झुठा मुद्दा लगाएर जेल चलान र दमनबाट क्रान्तिलाई निस्तेज गर्ने दिवासपना देखिरहेको बताएका छन् ।
उनले गिरफ्तार नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको तत्काल रिहाइ गर्न माग गर्दै थप अगाडी भनेका छन्, “हामी स्पष्ट गर्दछौं– क्रान्तिकारी पार्टी, नेता, कार्यकर्ता, शुभचिन्तक तथा श्रमजीवी जनतामाथि फासीवादी दमन गरेर देशलाई ब्रह्मलुट गर्ने, जनतालाई कङ्गाल बनाउने र साम्राज्यवादको दलाली गरेर देशलाई पराधिन बनाउने हर्कत किमार्थ पुरा हुन सक्दैन । त्यसकारण गिरफ्तार गरिएका हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई यथाशिघ्र रिहा गरियोस् । यसो नगरिए हाम्रो पार्टी सशक्त प्रतिरोधमा उत्रिन बाध्य हुने स्पष्ट गर्दछ ।”
इन्चार्ज भीमले गिरफ्तार गरिएका नेता कार्यकर्ता तथा शुभचिन्तकहरु रिहाइको लागि पहल गरिदिनु हुन सम्पूर्ण कानुन व्यवसायी, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार एवं सरोकारवाला सबै पक्षमा हार्दिक अपिल समेत गरेका छन् ।
शुक्रबार नेकपाका नेता लगायत शुभचिन्तकहरुलाई बुटवल स्थित सुकुम्बासी बस्तीबाट प्रहरीले पक्राउ गरेको थियो । नेकपाका जिल्ला इन्चार्ज सङ्गम सहित बिष्णु भट्टराई, नाथुप्रसाद थारुसँगै सरिता बराह, पारस राहादी मगर, अजमहमद मिया, बलबहादुर दर्जी, माधव न्यौपाने, तुल्सीराम भण्डारी, रोशन रिजाल समेत पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु