आज बकर इद

२०७७ श्रावण १७ गते, शनिबार

काठमाडौं । आज बकर इद अर्थात् इदजोहा पर्व । मुस्लिम धर्मालम्बीहरुले इदपछिको ठूलो पर्व बकर इदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् । यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गरेर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ । यो पर्व तराईको मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहालगायतका जिल्लामा धुमधामका साथ मनाउने गरिन्छ । तर यस वर्ष कोरोना महामारीका कारण इस्लाम धर्मालब्बीहरुले घरमै बसेर नमाज पढी मनाउदैछ ।
इदुलफित्रको ठीक ७०औँ दिनमा मनाइने गरिएको यस पर्वमा मुसलमानले पूर्णरुपले चोखो भएर इदगाह वा मस्जिदमा गएर नवाज पढ्ने चलन छ । त्यसपछि, एकापसमा आलिङ्गन गरेर भातृत्वको सन्देश प्रवाह गर्छन् ।
यस पर्वको मुख्य उद्देश्य कुरवानी भएकाले खसी, भैँसी र बाँझो पाठीलाई बलिदानी दिने गर्छन् । मुस्लिम धर्मग्रन्थअनुसार, अल्लाहका इब्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराको गर्भबाट जन्मिएको छोरा इस्माइल अलि सलामलाई अल्लाहको आदेशमा कुरवानी दिन गएका थिए । तर, अल्लाहले इब्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न भएर उनको कुरवानी स्वीकार गरी छोरा इस्माइलको ठाउँमा भेँडाको कुरवानी लिएको थियो । सोही दिनदेखि इब्राहिमको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको हो ।
यस पर्वमा कुरवानी दिएको जनावरको मासुको तीन भाग लगाइन्छ । एक भाग आफ्ना लागि, एक भाग इष्टमित्र र एक भाग गरिब दीनदुःखीबीच बाँड्नुपर्ने नियम रहेको छ । यो पर्व तीन दिन मनाइने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु