बालुवाटारबाट खटाइएका सुराकी तत्काल फिर्ता गर्न माग !

२०७७ श्रावण १५ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कथित जनप्रतिनिधि र बालुवाटारबाट खटाइएका सीआईडी सुराकीहरुले राज्यआतंक मच्चाएको बताएको छ । चेङकाईसेक पथमा हिडिरहेको केपी वली सरकारले जनतामा त्रासको वातावरण उत्पन्न गरेको भन्दै बालुवाटारबाट खटाइएका सुराकी तत्काल फिर्ता गर्न मागसमेत गरेको छ ।

नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले वार्ताको हल्ला गरेर भ्रम सिर्जना गर्ने तर भित्रभित्रै सुराकीहरुलाई सुदूरपश्चिमका गाउँगाँउमा परिचालन गरेको पाइएको बताएका छन् । साथै उनले सरकारको सीआईडी र आरआइटी नामको गिरोहलाई आफ्नो पार्टीका नेताकार्यकर्ता गिरफ्तार गर्ने र ब्यक्ति हत्यासम्मको निर्देशन दिएको पाइएको उल्लेख गरेका छन् । सेती–महाकालीका कैलाली र कञ्चनपुर लगायतका सबै जिल्लाहरुमा बालुवाटारबाट परिचालित सुराकीहरुलाई फिर्ता गरेर राज्यआतंक बन्द गर्न माग विज्ञप्तिमा गरिएको छ ।

त्यस्तै कैलाली जिल्लामा जनताबाट निर्वाचित केही जनप्रतिनिधिहरु मेयर, अध्यक्ष तथा वडा अध्यक्ष समेतले सुराकीको काम गरेको सूचना प्राप्त भएको भन्दै त्यसबारेमा गहिरो अध्यायन गरिरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कैलाली जिल्लामा जनताबाट कथित निर्वाचित कतिपय मेयर र अध्यक्ष तथा वडा अध्यक्षसमेत सीआईडी र सुराकीको काम गरिरहेको हाम्रो पार्टीले प्रमाणित गरिसकेको छ भने सरकारी पार्टीका कतिपय कार्यकर्ता पनि सीआईडी र सुराकीको भुमिकामा रहेको बुझ्न आएको छ । जसको गहिरो अध्यायन अनुसन्धान हाम्रो पार्टीले गरिरहेको छ ।’

साथै विज्ञप्तिमा सरकारद्वारा गिरफ्तार गरिएका आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई बिना शर्त स–सम्मान रिहा गर्न माग गरिएको छ ।

प्रतिक्रियाहरु