नेपालद्वारा भारतलाई कडा जवाफः लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन

२०७७ श्रावण १४ गते, बुधबार


काठमाडौं । भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको भन्दै दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गरेका छन ।पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा–अड्चन नगर्न भनिएको छ । दार्चुलाका प्रजिअ पोखरेलका अनुसार पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ । यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा त्यसमा कहीँकतैबाट बाधा–अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी गराउँछौँ’ भन्ने उल्लेख छ । पत्र इमेलमार्फत पठाइएको सिडिओ पोखरेलले बताए ।
सन् १९६२ मा चीनसगँ भारतको युद्ध भएका बेला नेपालले १८ ठाँउमा भारतीय सेनाका लागि पोष्ट राख्ने अनुमति दिएको थियो । तर युद्ध पछि भारतले १६ ठाँउबाट आफ्नो सेना फिर्ता लगे पनि कालापानीका दुई क्षेत्रबाट फिर्ता लगेको थिएन ।
त्यही भुभाग अहिले भारतले आफ्नो दाबी गर्दै सडक नै बनाए पछि नेपालले कडा विरोध जनाउदै आएको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान भारतले छेक्ने गरेको छ । भारतले कालापानीबाट लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरिरहेको छ । नेपालको बिरोधका बाबजुद भारतले बाटो निर्माण अझै रोकेको छैन ।

प्रतिक्रियाहरु