नेकपाद्वारा गिरफ्तार गरिएका नेता–कार्यकर्ता तुरुन्त रिहा गर्न माग

२०७७ श्रावण १३ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज शितलले देश कोरोना भाइरसको महामारी, बाढीपहिरो र डुबानले अस्तव्यस्त भएको बेला केपी वली सरकार दमन अभियानमा अघि बढिरहेको बताएका छन् । मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै नारायणी इन्चार्ज शितलले सरकारको दमन अभियानकै सिलसिलामा सोमबार साँझ चितवनको राप्ती नगरपालिकाबाट प्रहरीले आफ्नो पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’, दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विक, नेकपाका ब्युरो सदस्य हुकुम र स्थानीय २ जनासहितलाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।
वर्तमान सरकारले दिन–प्रतिदिन राष्ट्रघात, जनघात, सत्ताको लुछाचुँडी, भ्रष्टाचार, तस्करीजस्ता एकपछि अर्को ब्रह्म लुट मच्चाइरहेको भन्दै शितलले विज्ञप्तिमा राष्ट्रियताको रक्षार्थ देशमा वैज्ञानिक समाजवादको अभियान अघि बढाइरहेको आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, जेल–हिरासत हाल्ने सरकारी कदम फासिवादी भएको उल्लेख गरेका छन् । फासिवादी सरकारी कदमका विरुद्ध आफ्नो पार्टी सङ्घर्ष गर्दै अघि बढ्ने जानकारी गराउँदै शितलले गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता–कार्यकर्ताको रिहाइको पहल गरिदिन मानवअधिकारकर्मीहरूलाई अनुरोध गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार