मन्त्रीसँग नागरिक संवाद – बलराम तिमल्सिना

२०७७ श्रावण १२ गते, सोमबार

हो मन्त्री ज्यू
हामी वाँदर नै हौं तपाईको नजरमा
वाँदर त रुखमा बस्नु पर्थ्यो होला
तपाईको राजमा
हामी घरमा बस्न खोजेर
तपाईको मनुष्यतामाथि हमला गर्यौं कि ?
हजुरका देउता रिसाए होलान् कि ?

हो मन्त्री ज्यू
तपाईको अभिजात्य नजरमा
हामी पुच्चर झरेका वाँदर
वाँदरले घर बनाउन खोज्नु
वाँदरले घरमा बस्न खोज्नु
तपाईको आदिम मान्यता विपरित भयो होला ?

मन्त्री ज्यू
लङ्का जित्ने वेलामा त
हामी खुव काम लाग्यौं नि है ?
हामीसँग मितेरी पनि गाँस्नु भाथ्यो
आफ्नै पुच्छरमा आगो झोसेर
हामी निस्फिक्री होमियौं युध्दमा
लङ्का फत्ते भयो
आफ्नी महारानी बोकेर
तिमी राजपाठमा फर्कियौ
हामी त फेरि जङ्गलमै त हो नि हैन र ?

जलाऊ मन्त्री ज्यू जलाऊ
हामी नाथे वाँदरका मचानहरू
तर याद राख मन्त्री ज्यू
चेपाङहरू चे बने भने के हुन्छ ?
पुच्छरमा बोकेर फेरि
लङ्का जलाउने आगो
ती तिम्रो राजधानी छिरे भने के हुन्छ?

प्रतिक्रियाहरु