देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ

२०७७ श्रावण ११ गते, आईतवार

यतिबेला देशको राजनीति निकै तरल बनेको छ भने कोरोनाको कारण आर्थिक स्थिति धराशयी हुन पुगेको छ । यस्तो अवस्थामा सरकार दह्रो भएर अगाडि बढ्नुपर्ने हो । तर, सत्तासीन दलभित्र नै अहिले रडाको मच्चिरहेको छ । जसको कारण सरकारले आफ्नो अस्तित्व रक्षाकै निम्ति सम्पूर्ण शक्ति खर्चिरहेको देखिन्छ । देशी, विदेशी दलालका यतिबेला नेपाललाई असफल राष्ट्रमा दर्ज गराउन कम्मर कसेर लागेका छन्, जसको संकेतस्वरुप सत्ताधारी नेकपाभित्रको विवाद, पछिल्लो समय सर्वोच्च अदालतलगायतका अन्य अदालतको आदेश र फैसला नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध, सुकुम्बासी बस्तीमाथिको आगजनी र सरकारी निकायहरुबीच भएको अनमेललाई लिन सकिन्छ । यी तमाम तथ्यहरुलाई हेर्दा नेपालका संसद्वादी दल र तिनका नेताहरु देशलाई अग्रगमनभन्दा पश्चगमनतिर धकेल्न खोज्दैछन् भन्ने प्रष्ट हुन्छ ।

यस्तो अवस्थामा संसद्वादी नेताहरुमध्ये वर्तमान प्रधानमन्त्री केपी ओली जरुरी केही राष्ट्रवादी देखिएका छन् । उनले पछिल्लो समय देशी, विदेशी दलालहरुको भण्डाफोर गर्दै आएका छन् र राष्ट्र र जनतालाई केद्रभागमा राखेर अगाडि बढ्ने उद्घोष गरेका छन् । साँच्चै प्रधानमन्त्री ओली राष्ट्र र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्न खोजेका हुन् भने उनले तत्काल नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको पहल गर्नुपर्छ । किनकि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई जोगाउँदै देशमा वैज्ञानिक समाजवाद ल्याउन नेपाल कम्युनिस्ट पार्टी अहोरात्र खटिइरहेको छ । प्रधानमन्त्री ओलीले भनेजस्तो समृद्ध राष्ट्र र सुखी नेपाली बनाउन वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प छैन । यसकारण देशी, विदेशी दलालहरुको गोटी बन्दै देशलाई असफल राष्ट्र बनाउन उद्यत संसद्वादी दल र नेताहरुलाई तह लगाउन र समृद्ध राष्ट्र र सुखी नेपाली बनाउन नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गर्नुको विकल्प छैन । नेपालमा संसद्वाद उपयुक्त छैन भन्ने तथ्य स्वतः पुष्टि भइसकेको छ । यस्तो अवस्थामा देशलाई असफल राष्ट्र हुनबाट जोगाउन प्रधानमन्त्री ओलीले कमर कस्नैपर्छ । अन्यथा उनलाई इतिहासले माफ गर्ने छैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु