एक स्वरले भनौं, “नो व्रत प्लिज !”

प्रमोद धिताल २०७७ श्रावण ११ गते, आईतवार

                                        

गायिका सोफिया थापाले गाएको गीत ‘नो ब्रत प्लिज’ बोलको गीतसँगै त्यसको नृत्य भिडियो सार्वजनिक भयो । सार्वजनिक भए लगत्तै एकथरि धार्मिक अतिवादीहरुको प्रतिक्रिया सोफिया थापामाथि यसरी खनियो मानौं समाज सुधार, धार्मिक सुधार, परिवर्तन र समानताको गीत गाएर उनले अक्षम्य अपराध गरिन् । उनले जानकारी गराए अनुसार गीतको विरुद्धमा विश्व हिन्दु युवा संघको नाउँमा विज्ञप्ति मात्र आएन, बरु उनलाई धम्कीपूर्ण सन्देश र कलहरु पनि आए ।

एकपछि अर्को गर्दै देखिएका सामाजिक साँस्कृतिक परिदृष्यहरु देख्दा यस्तो महसुस हुँदैछ कि यो इतिहासकै सबैभन्दा भद्दा सामाजिक–साँस्कृतिक प्रहसन चलिरहेको समय हो । हामीले गणतन्त्रको निम्ति संघर्ष ग¥यौं । लाग्थ्यो नयाँ व्यवस्थाको आगमनसँगै धेरै हदसम्म सामन्तवादी, अवैज्ञानिक, विभेद र दमनकारी संस्कृतिहरु अन्त्य भएर जानेछन् । तिनका केहि अवशेषहरु मात्र बाँकि रहलान् । तर लाग्दैछ कि गणतन्त्रको बगैंचमा नयाँ चेतनाका बचेखुचेका फूलहरु पनि कोपिलामैं चुडेर निमिट्यान्न पारिदैंछन् । मध्ययूगीन चेतनाको बनमारा झारको खेती तमास लाग्दो गरि फस्टाउँदैछ । यस्तो अतितमुखी बनमारा संस्कृतिका संरक्षकहरुलाई हौस्याउँने स्रोत चाँहि के होला ?

                हिन्दु धर्मभित्र भएका विकृति र विसंगतिहरुको अन्त्य नगरी धर्मलाई जोगाउँन सकिन्न भन्ने मान्यतासहित भारतमा कुनै समयमा स्वामी विवेकानन्द, दयानन्द सरस्वती जस्ता व्यक्तिहरुले धर्मसुधार आन्दोलन चलाए । तर यतिखेरका नेपाली हिन्दु धार्मिक ठेकेदारहरुमा दशकौं अघिको धर्मसुधार आन्दोलनको चेतना पनि घुस्न सकेको देखिन्न । यिनीहरुको घोर अतितमुखी दृष्टिकोण, चेतनास्तर र व्यवहार देख्दा यस्तो लाग्दैछ हिन्दु धर्ममाथि यदि खतरा छ भने अरु कसैबाट होइन यिनै अतितमुखी लम्पट प्राणीहरुबाट छ । यिनीहरुकै कारणले हिन्दु धर्मको अवसान धेरै टाढा छैन ।

                यति कुरा गर्दै गर्दा अर्को एउटा पक्षमाथि पनि बोल्नैपर्छ । त्यो के भने नेपालमा पञ्चायती कालभन्दा अगाडिदेखि नै ईशाइकरणको ध्ययसहित विभिन्न क्रिश्चयन मिशनरी संस्थाहरु क्रियाशील छन् । उनीहरुको गतिविधि अहिले धेरै गुणा बढेर गएको छ । उनीहरुले आफ्नो मिशन सफल बनाउँन नेपाली समाजमा विद्यमान वर्गीय, जातीय भेदभाव, वर्गीय असमानता, लैंगिक शोषण–उत्पीडनलाई पनि उपयोग गर्दै मानिसहरुलाई धर्म परिवर्तन गराउँने र चर्चहरुको माध्यमबाट संगठित गतिविध गर्ने काम गर्दै आएका छन् । यसलाई अन्य क्षेत्र(आर्थिक,राजनीतिक, सामाजिक–साँस्कृतिक जस्तै) साम्राज्यवादी धार्मिक हस्तक्षेपको एउटा रुपमा लिन सकिन्छ । नेपालका उत्पीडित वर्ग, जाती, लिंग र समुदायका मानिसहरुलाई मुक्त गर्ने अस्त्र न हिन्दु धर्म हुनसक्छ न त क्रिश्चयन या अन्य कुनै धर्म । यो त एउटा भडखारोबाट मुक्त हुने नाउँमा अर्को भड्खारोमा हाम फाल्नु मात्र हो । यो आज पनि सक्रिय नै छ । तर यसकै कारणले हिन्दु धर्म संकटमा पर्दैछ भन्नु चाँहि भ्रम मात्र हो । बरु हिन्दु धर्मका ठेक्का लिएर बसेकाहरुको अतिवादी र मूर्खतापूर्ण हठको कारणले चाँहि हिन्दु धर्म आफै खतरामा छ । कसैले पनि समयानुकूल आफूलाई सुधार्दै, आफूभित्र भएका कमी कम्जोरीहरु हटाउँदै जानु गलत हो भन्नेजस्तो मूर्खता प्रदर्शन गर्छ भने उसको निम्ति सबैभन्दा खतरा ऊ आफै हो । फेरि धर्म भनेको अपनाउँन, परिवर्तन गर्न र छोड्न पनि सकिने स्वेच्छिक कुरा हो । तर एकथरि मानिसहरुमा अहिलेपनि परम्परागत हिन्दू शासकीय रवैयाको धङधङी छ । गायिका सोफियामाथिको धम्की त्यसैको उपज हो ।

                जस्तो कि हिन्दु सामन्तवादभित्रको कुरा गर्दा जात व्यवस्था र त्यसको आधारमा मानवीय भेदभाव, शोषण–उत्पीडन, सामाजिक विभाजन र उँचनीचको भावना मानव सभ्यताकै इतिहासमा सामाजिक जहरको भूमिका खेल्ने व्यवस्था हो । यो लैंगिक उत्पीडन, विभेद, क्रुरता र अत्याचारको स्रोत नै हो । हिन्दु सामन्तवादको यस्तो विधि विधानमाथि प्रश्न उठ्नु कुनै पनि विवेकशील मानिसका लागि टाउको दुखाइको विषय होइन । अतितमुखी, शोषणकारी व्यवस्था पूजकहरुले सोचे जस्तो सबै मानिसहरु सत्ताकै सती जान्थे भने आजसम्मको भएको जम्मै परिवर्तन काल्पनिक विषय मात्र हुन्थ्यो होला । प्रश्न यो ब्रम्हाण्डकै अस्तित्वको बारेमा त उठ्ने गर्छ भने मक्किएका, सडेगलेका, थोत्रा अनि पत्रु भैसकेका चाल चलनहरको बारेमा उठ्नु नितान्त सामान्य कुरा हो । कथित ‘महान पर्व’को नाउँमा दाशत्व मात्र थोपर्ने तिज पर्वमाथि कलात्मक प्रश्न गरेर गायिका सोफिया थापाले प्रशंनीय कार्य गरेकी छन् ।

एउटा स्पष्ट हुनैपर्ने कुरा के हो भने हिन्दु सामन्तवादले परम्परा, संस्कृति, संस्कार र पर्वहरुको नाउँमा स्थापित गरेका मूल्य र मान्यताहरु कसैको पक्षमा छन् भने ती शोषक वर्गको पक्षमा छन् । पितृसत्ताको पक्षमा निश्चय पनि छन् । जसले आज पर्यन्त महिलालाई मानव या पूर्ण मानव बन्न दिएको छैन । दलित र महिला दुबैको मुक्ति र आत्मसम्मानको निम्ति पनि ती मूल्य–मान्यताहरु दुश्मन नै हुन् । कम्तिमा सोफिया थापाले त्यो तहमा तीजलाई राखेकी त छैनन् । उनले तिज पर्वको नाउँमा नारीहरुमाथि वर्षौंदेखि थोपरिएका दाशत्वहरुलाई परित्याग गर्दै तीज मनाउँनुपर्ने कुरा गीतमार्फत व्यक्त गरेकी छन् । यो त आफूलाई शिक्षित ठान्ने पढालेखा नयाँ पुस्ताको लागि पनि धेरै गतिलो सन्देश हो । जो आफूलाई आधुनिक त ठान्छ, तर बिना तर्क र बिना प्रश्न दाशयुगीन मान्यताहरुको सति जान पनि तयार हुन्छ ।

                विश्व हिन्दू युवा संघ र हिन्दु जागरण नेपालको नाउँमा सार्वजनिक विज्ञप्ति र फोनमार्फत आएका धम्कीहरुमा उनीहरुको ‘धर्म र सस्कृतिमाथिको आक्रमण’ भन्ने चिन्ता रहेछ । सँगैसँगै उनीहरुले विज्ञप्ति र फोनल कलमार्फत त्यो गीत सामाजिक सञ्जालबाट हटाउनुपर्ने ‘फरमान’ जारी गरेका रहेछन् । जबकि उनीहरु साँच्चिकै हिन्दु धर्मको संरक्षण चाहन्छन् भने त यस्तो गीत गाउँनेलाई त बधाई पो दिनुपर्ने हो ! उनीहरुको रवैया देख्दा नै लाग्छ धार्मिक अन्धता कति अन्धो र डरलाग्दो हुन्छ ! समाजमा विभिन्न थरि धर्महरु छन् । धर्म नमान्ने आस्तिकहरु पनि छन् । थप धर्मलाई धारणको अर्थमा लिने हो भने पनि जसलाई उनीहरुले ‘धर्म र संस्कृति’ भन्दैछन् त्यो कस्को हो ? त्यो त एउटा यस्तो वर्गको हो जसले समाजमा शोषण, उत्पीडन र विभेदलाई नै धर्म र संस्कृतिको रुपमा परिभाषित ग¥यो । गरिखाने वर्गका मानिसहरु(जसभित्र महिला सबैभन्दा अग्रपंक्तिमा आउँछन्)को दिमागलाई उपनिवेश बनाएर शासन ग¥यो । एकथरि वर्गको हीत गरेतापनि शक्ति, सत्ता, शासनको बलमा समाजका अधिकांश मानिसको ‘धर्म र संस्कृति’ को रुपमा स्थापित गर्न सफल भयो । के अब पनि उनीहरुले सोचेजस्तै समयलाई अतितमुखी चेतनाको कोठरीभित्र कैद गर्न सम्भव छ ? किमार्थ छैन ।

                हो तीज पर्वको मूल मर्म महिलाले लिने व्रत हो । व्रतको मर्म ‘श्रीमानको आयु बढाउन’ या ‘चाहेजस्तो श्रीमान पाउँनु’ हो । तर यसले महिलालाई स्वतन्त्र होइन दाश बनाउँछ । यो कुनै “महान पर्व” होइन । नारीलाई सधैंभरि पितृसत्ताको जाँदोमा पिसिराख्ने विधि–विधानको एउटा कडी मात्र हो । यो समाजको जाली, झेली, शोषक र फटाहा दर्शनको उत्पादन हो । अनि यो कसरी सबैको धर्म र संस्कृति हुन्छ ? हामी यतिखेर कुन युगमा छौं जहाँ दाश युगका मतियारहरु गीतका शब्द र सन्देशहरुमाथि सार्वजनिक सेन्सर गर्दैछन् ?

अबको बोल्ने पालो नारीहरुको हो । उनीहरु भर्खर त बोल्न थालेका छन् ! जुन दिन उनीहरुको बोलीले शोषणकारी सत्ताद्वारा निर्मित फर्जी भाष्यहरुको पोल खुल्न थाल्नेछ त्यो दिन त्यो “धर्म र संस्कृति” जिवित रहने छैन जसमाथि उनीहरु खतरा देखिरहेका छन् । अबको बोल्ने पालो दलितहरुको हो । जसका आवाजहरुले दाशत्वको दम्भलाई माटोमा मिलाइदिनेछन् । अबको बोल्ने पालो श्रम, पसीना र रगत लुटाउन विवश गरिखाने वर्गको पनि हो, जसको बोलीले अहिलेसम्मको झेली शासनमाथि धावा नै बोल्नेछ । यो कुरा सृजनाका शब्द र सन्देशहरुमाथि सेन्सर गर्न बसेका जाली दर्शनका भजन गायकहरुले राम्रोसँग बुझ्दा हुन्छ ।

यी पंक्तिहरु लेख्दै गर्दा पनि उनले आफूलाई खबरदारीयुक्त कलहरु आइरहेको बताइन । त्यसैैले म भन्छु–शब्दहरु फगत शब्द र मनोरञ्जनका साधन होइनन् । जहाँ प्रश्न हुन्छ त्यहीं हुन्छ असली सृजना र आविष्कार । त्यसैले पैदा गर्छ मानिसमा अगाडि बढ्ने हुटहुटी । परिवर्तनको सन्देश बोक्ने एउटै सृजनामा यथास्थितिलाई बोक्ने हजरौं सृजनामाभन्दा ठूलो शक्ति हुन्छ भन्ने कुराको सन्देश हो यो । यस्तो गीतको लागि गायिका सोफिया वधाई दिदैं एक स्वरले भनौं– “नो व्रत प्लिज !”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आऊ एकसाथ पिसाव फेरौं

२०७७ श्रावण २४ गते, शनिबार

दाइँबराइँदो

२०७७ श्रावण २३ गते, शुक्रबार

कमाल चस्मा – बलराम तिमल्सिना

२०७७ श्रावण १८ गते, आईतवार