सुन्दर बन्दूक

बलराम तिमल्सिना २०७७ श्रावण ९ गते, शुक्रबार

मान्छे मार्न भर्ती भएको
सुन्दर मान्छेको हातमा भएको
सुन्दर बन्दूकभित्र रहेको
सुन्दर गोलीले
मान्छेको सुन्दर छात्तीमा हान्यो !

गोली ठोक्नेले भन्यो –
‘सुन्दर बन्दूकको सुन्दर गोलीले
सँधै सुन्दर छात्ती मात्र रोज्छ !’

उसले फेरि भन्यो-
‘कहिले कहिले
घुँडामुनि हान्ने आदेश आउछ
तर मेरो सुन्दर मन
सुन्दर बन्दूक
र सुन्दर गोली
कुरुप घुँडामा कसरी सोझिन्छ ?’

उसको कुरा सुनिसकेपछि
अनायास याद आउँछ
डोनाल्ड ट्रम्पको
र मन मनै सोच्न मन लाग्छ
बन्दूक र हत्यालाई
सबैभन्दा सुन्दर देख्ने
यो नौजवान सिपाही
कतै उनैको चेलो त होइन ?

संसारभरिका
क्रुर शासकहरूलाई
सोध्ने हो भने यो प्रश्न –
‘शासक महोदय ,
तपाईलाई कुन सुन्दर लाग्छ
प्रियसीका आँखा
या बन्दूक ?’
उनीहरूको सटिक जवाफ हुने छ-
बन्दूक ,बन्दूक र फेरि पनि बन्दूक !

प्रतिक्रियाहरु