साउन १० गते रातो मत्स्येन्द्रनाथको रथारोहण

२०७७ श्रावण ७ गते, बुधबार


काठमाडौं । पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार रातो मत्स्येन्द्रनाथको रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका कीर्तिमदन जोशीले रथारोहण दिउँसोको १२ः१० देखि १२ः२५ सम्म गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने गरी मुहूर्त जुराएका हुन् । सामान्यतया रथारोहणको चौथो दिनका रथयात्रा गराउने चलन थियो । यस पटक रथारोहणकै दिन रथयात्रा सुरु भए पनि अरू प्रक्रिया यथावत हुने राजोपाध्यायले जानकारी दिए । शनिबार रथारोहण गरिसकेपछि कृष्ण मन्दिर राजोपाध्यायहरू जसलाई शेशे बाज्या भनिन्छ । उनीहरूलाई गोदान गर्ने गरिन्छ । त्यसपछि साँझा ४ बजे तिर गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।
रथयात्रा सुरु भएपछि साउन १० गते पुल्चोकमा रहेको सो रथलाई तानेर गाबहालको चारदोबाटो पु¥याउने गरिन्छ । रथयात्राको पहिलो दिन रथलाई विधिवत पूजा गरी सोही चोकमा राखिन्छ । दोस्रो दिन गाबहालबाट मंगलबजारसम्म रथ तान्ने गरिन्छ । तेस्रो दिन सुन्धारासम्म र चौथो दिन पनि सुन्धारामा रथ राख्ने गरिन्छ । हरेक दिन बिहान र बेलुकी रथमा विधिवत् पूजा गर्ने गरिन्छ । त्यस्तै, पाँचौं दिन रथलाई महाबौद्धभन्दा अघि पुरानो बालकुमारी पीठसँगै रहेको खाली ठाउँमा राख्ने गरिन्छ । त्यसैको भोलिपल्ट लगनखेलमा रहेको रूखमा रथ घुमाएर त्यहीँ राख्ने गरिन्छ । त्यसको भोलिपल्ट रथलाई लगनखेलको माथिल्लो चोकमा राखेर बली दिनुपर्छ । रथको पाङ्ग्रालाई भैरवको स्वरूप मान्ने गरिन्छ । त्यहाँ बलि दिएपछि भोलिपल्ट बिहान ६÷७ बजे नै महिलाहरूले मात्रै तानेर रथलाई लगनखेलमा लगेर राख्ने गर्छन् ।
त्यसपछि फेरि अर्काे साइत हेरेर त्यसलाई जावलाखेलसम्म तान्ने गरिन्छ । जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने गरिन्छ ।
भोटो देखाएकै दिन बेलुका मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती लैजाने गरिन्छ । यसरी बुंगमतीमा रहेको मन्दिरमा मत्स्येन्द्रनाथलाई विधिवत् स्थापना गरेपछि यस वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुने राजोपाध्यायले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार