वरवर राव

बलराम तिमल्सिना २०७७ श्रावण ६ गते, मंगलवार

उमेरले चाउरी परेको छ अनुहार
रोगले सिथिल छ शरीर
त्यसमाथि थपिएको छ कोरोनाको कहर
पिसावले लतपत छ ओछ्यान
बन्दूकधारीको घेराभित्र
अझै मुस्कुराइरहेछ एउटा अनुहार
ऊ अर्थात ऊ उर्ध्वगमनको
इच्छा शक्तिको दिव्य चढाव
जनताको कवि वरवर राव !

उसले कलम बोक्यो
शासकले मेशीनगन देख्यो
उसले कविता लेख्यो
शासकले युध्द देख्यो
उसले सत्यलाई प्रेम गर्यो
श्रमलाई प्रेम गर्यो
श्रमिकलाई प्रेम गर्यो
आदिवासी बस्तीलाई प्रेम गर्यो
शासकले उसलाई आतङ्ककारी देख्यो
ऊ अर्थात- ऊ यस्तो मान्छे-
‘शासकहरूको सतत तनाव !
बागी विद्रोही वरवर राव !!’

ऊ कलमको बन्दूक बोक्थ्यो
र कविताको गोली ठोक्थ्यो
ऊ अक्षरहरूको मिसायल बोक्थ्यो
र हिटलरहरूको अड्डामा ठोक्थ्यो
ऊ कलमवीर सेनापती
ऊ अक्षरहरूको इन्जिनियर
कोटी कोटी मनले भन्छन-
‘ऊ हो युगको नित्य वहाव !
शब्द सारथी वरवर राव !!’

हस्तिनापुरको सम्राट
हरेक दिन खवर बुझिरहन्छ
सोधिरहन्छ- कैले मर्छ त्यो असती बुढो ?
दश लाख सेनासहितको साम्राज्य
एउटा कलमवीरसँग थुरथुर छ
उसका कवितादेखि चुर चुर छ
शोषित जनले भन्ने गर्छन्-
‘ऊ हो भव्य इन्कलाव !
वुलन्द कवि वरवर राव !!’

उसको स्वास्थ्यको कामना
र रिहाईको माग गर्दै
विश्वभरिका हजारौं हजार
सर्वोत्कृष्ट दिमागहरू सकृय छन्
उसको जीवन रक्षाको लागि
लाखौं सद्हृदयीहरू चिन्तित छन्
अमिताभ बच्चन खुव चिनेका
उसलाई नचिनेका
काँचको पर्दाका सन्तान
ठेट्नाहरू सोध्ने गर्छन्-
को होला त्यो दिव्य जनाव ?
यसको सोझो सजिलो उत्तर
‘त्यो मान्छे हो वरवर राव !
काव्य-विद्रोही वरवर राव !!’

आऊ कवि हो कलाकार हो
हामीहरू पनि आवाज उठाऊँ
यस्तो वेला बोल्नु पर्छ
आऊ बोल्ने शाहस जुटाऊँ
तोडौं मौनता बोलौं सबैले
फुटोस मनको शान्त तलाव
हृदयभरिको प्रेमले भनौं-
‘हाम्रो पनि हो वरवर राव !
वाँच अझै कवि वरवर राव !!’

प्रतिक्रियाहरु