टाउको फिर्ताको माग – बलराम तिमल्सिना

२०७७ असार २५ गते, बिहीबार

हजारौं वर्षसम्म
गिंड मात्रैको जिन्दगी वाँच्दा वाँच्दा
आकुल व्याकुल बनेको म
फिर्ता माग्न आएको छु मेरो टाउको
तिम्रो संग्रहालयमा राखिएको
मेरो टाउको कृपया फिर्ता देऊ !

टाउको विहीन हुनु
गिदी बिहीन हुनु हो
गिदी बिहीन हुनु भनेको
बिचार विहीन हुनु हो
टाउको बिहीन हुनु भनेको
आँखा, कान , नाक र मुख बिहीन हुनु हो !

युगौं युगसम्म
बिताएपछि टाउको विहीन जीवन
गणतन्त्रको आँगनमा
म मेरो टाउको माग्न आएको छु
तिम्रो संग्रहालयमा
राख्नै पर्छ भने कसैको टाउको
मेरो विनम्र प्रस्ताव छ-
आलो पालो गरौं
यो पटक तिम्रो टाउको राखौं
र मेरो टाउको फिर्ता गरौं !

एक युग
तिमी पनि वाँचिहेर
टाउको चुडाएर
टाउको विहीन जीवन
कस्तो हुने रहेछ
तिमी पनि अनुभव गर !

तिमीले टाउकोसँगै
मेरो गिदि खोस्यौ
गिदीले गर्ने जम्मै काम खोस्यौ
आँखा खोस्यौ
कान खोस्यौ
नाक खोस्यौ
तिमीले मेरो जिब्रो खोस्यौ
र मलाई घिसारिरह्यौ
सयौं सयौं पुस्ता !

समयको विस्फोटसँगै
म पनि ब्युँझेको छु
र तिम्रो दैलोमा आएको छु
हजारौं वर्षको तपस्यापछि
एउटा प्रण गरेको छु मैले
कि म आफ्नो टाउको लिएर फर्कन्छु
कि त तिम्रो टाउको लिएर फर्कन्छु !

श्रीमान हत्यारा ,
एउटा कुरा रोज
तिमीलाई सुबिधा
मेरै टाउको फिर्ता गर्दा हुन्छ
मसँग मात्रै दुई वटा विकल्प छन्
बरु अलि छिट्टै गर
मलाई धेरै हतारो छ
अव म कत्ति पनि पर्खन सक्दिन !

नचिनेजस्तो गरेर हेर्नु हुन्छ
मलाई चिन्नु भएन र श्री राम
म तपाईले टाउको छिनाएको शम्बूक
मर्जी होस मर्यादा पुरुषोत्तम
तपाई कुन विकल्प रोज्ने ?

प्रतिक्रियाहरु