नामको कुरा – बलराम तिमल्सिना

२०७७ असार २० गते, शनिबार

मालिकको
खकार सिँगान र विर्यले बनेको
एक थान मण्डली छ
नाम त जे राखे पनि भयो नि
जस्तो-
नेपाल खकार पार्टी
अखिल सिँगान पार्टी
प्रभु विर्य दल
या यस्तै यस्तै !

मालिकको
अहङ्कार
मनमौजी
तजविज
र सनकले चलेको
एउटा प्रणाली छ
नाम त जे दिए पनि भयो नि
जस्तै-
जनवादी केन्द्रियता
आन्तरिक लोकतन्त्र
अन्तर पार्टी जनवाद
या यस्तै यस्तै !

मालिकको
जयजयकारमा मस्त
एउटा झुण्ड छ
नाम त जे दिए पनि भयो
जस्तै-
अरिङ्गाल समुह
नव मण्डले झुण्ड
लाल लुटेरा मण्डली
अन्धभक्त टोली
दुई खुट्टे सलह समुह
या यस्तै यस्तै !

मालिकको
पैतालामुनि
थिचिएको एउटा व्यवस्था छ
नाम त जे दिए पनि त भयो
जस्तै-
लोक तन्त्र/ लुटतन्त्र
भोगतन्त्र/ भुटतन्त्र
ठोक तन्त्र/ ठगतन्त्र
जोक तन्त्र / शोकतन्त्र
गणतन्त्र / गुटतन्त्र
या यस्तै यस्तै अरु पनि !

नामले
केही खालो सार्ने रहेनछ
केही माखो मार्ने रहेनछ
नाम त
यिनीहरूले पनि
क्या झकाँसको राखेका छन् !

प्रतिक्रियाहरु