रामदेवद्वारा सात दिनमा कोरोना निको हुने औषधि बनाएको दाबी

२०७७ असार ९ गते, मंगलवार

काठमाडौं, ९ असार । भारतीय योगगुरु बाबा रामदेवले आफ्नो कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि तयार पारेको ठोकुवा गरेका छन । पतञ्जली आयुर्वेदका तर्फबाट गरिएको पत्रकार सम्मेलन गर्दै रामदेवले घोषणा गर्दै भने , ‘विश्वले कोरोना भाइरसको औषधि खोजी गरिरहेको थियो । आज कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको छ । यसको नाम हामीले कोरोनिल राखेका छौँ ।’ उनले भने – पतञ्जलीले बनाएको यो औषधि बजारमा किन्न सकिने जानकारी दिँदै, ‘आयुर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्जलीको स्टोरबाट पाउन सकिन्छ’ ।
आगामी सोमबारसम्म एक एप सार्वजनिक गरी त्यसैको माध्यमबाट घरघरसम्म औषधि पुर्याइने भन्दै उनले एलोपेथिक सिष्टमले औषधिलाई नेतृत्व गरिरहेको भए पनि पतञ्जलीले भने क्लिनिल कन्ट्रोलको अध्ययन गरेर औषधिको परीक्षण गरेको दाबी गरे ।
‘हामीले परीक्षण गरेको औषधिले तीन दिनमा ६५ प्रतिशत रोगी पोजिटिभबाट नेगेटिभ भइसकेका छन् । कोरोना संक्रमित व्यक्ति सात दिनमा शतप्रतिशत ठीक हुन्छ,’ उनले भने ।
सबै वैज्ञानिक तथ्यहरुलाई आधार मान्दै कोरोनिलको तयार गरेको भन्दै उनले भने , ‘हामीसँग सबै प्रश्नको जवाफ छ, किनकि हामीले सबै वैज्ञानिक नियमको पालना गरेका छौं ।’
उक्त औषधिमा गुर्जो, अश्वगन्धा, तुलसी र श्वासारी मिसाएर बनाइएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र कोरोनिल भारतीय ६ सय रुपैयाँमा पाउने पनि उनको भनाइ थियो । – एजेन्सी

प्रतिक्रियाहरु