आन्दोलनमा पक्कै घुसपैठ भएको छ – बलराम तिमल्सिना

२०७७ जेष्ठ ३१ गते, शनिबार

ए सरकार , हो गर। आन्दोलन अब पहिलाको जस्तो रहेन। आन्दोलनले अब एक थरि मात्र कुरा गर्न छोड्यो । एमसिसिदेखि लिम्पियाधूरासम्म ,ओम्नीदेखि छाउगोठजस्ता क्वारेन्टाइन सेल्टरसम्म, तिम्रा उखान टुक्कालाई इस्स भनेर माझी औंला देखाइदिने देखि स्ल्याङ भाषामा लोक गाली गर्नेसम्म जम्मै आयो आन्दोलनमा । कुनै नयाँ अजीव तत्वको घुषपैठ नभएको भए यो सब कसरी भयो ? मान्छेभित्रका भोक, रोग, झोक, घृणा, उन्माद, उत्तेजना, मोह , तृष्णा , तनाव सबै सबै बाढीझैं बगेर आयो आन्दोलनमा । चलन चल्तीका पार्टीले लगाउने खाले नारादेखि ड्राइभर खलासी र सेना प्रहरीले गाली गर्ने भाषाका चच मम सबै आयो यार । आयो त आयो अब क्यार्छौ ? यी बोलीहरू हाम्रो समाजमा अस्तित्वमा थिए र ती लकडाउनको तगारो भाँचेर हुरुरु सडकमा छिरे । हुन त यस्ता चच मम मन्त्री ज्युहरू पनि बोलिसिन्छ भन्ने लोकलाई पनि थाहा छ।
आन्दोलनमा सोह्रै आना घुसपैठ भएको छ। पहिला पहिला आन्दोलनमा पार्टीले बोलाएका मान्छेहरू आउथे। ती डोर्याइएको खसी बोकाझैं खुरु खुरु सडकमा हिड्थे। अह्राएका नारा मात्र लगाउँथे र समय सकिएपछि हुरुरु घर फर्कन्थे। त्यस्ता आन्दोलनलाई ठेगान लगाउँने तिनीहरूका नेताहरूसँग अलि हट खाले वार्ता गरेपछि पनि हुने गर्थ्यो।किन कि तिनीहरू प्राय आन्दोलन सरकारमा जाने भोक तिर्खाले गर्थे । यी अकडा आन्दोलनकारीहरूलाई के गर्छौ ? सायद यिनीहरूलाई सरकार ढाल्नु त होला तर सरकारमा जानु छैन । धन्न यिनीहरूको दिमागमा अझै सुधार मात्रै घुमिरहेको छ।यिनीहरूको दिमागमा क्रान्ति घुस्यो भने के हुन्छ ? मान्छेलाई भोकै प्यासै कैदी बन्दी बनाएर केवल उखान सुनाएर राखेपछि के हुने रहेछ भनेर देख्यौ होला नि सरकार ?
अँ म भन्दै थिएँ- आन्दोलनमा घुसपैठ भएको छ। आन्दोलनको अनुहार र चरित्र हेरे पनि बुझिन्छ कि घुसपैठ भएकै छ। आन्दोलनमा ओर्लेको उमेर समुहले पनि भन्छ कि कैयन आनदोलनकारीहरू पहिलो पटक आन्दोलनको मैदानमा आएका छन र ती सिकारु छन। सिकारुहरूले सिकारु तरिकै त अपनाउछन नि ।आन्दोलन श्लिल भएन भनेर सरकारले मन्त्री परिषदमा गुनासो प्रस्ताव पारित गरेको भन्ने सुनियो। सरकारलाई पक्कै थाहा होला कि आन्दोलनहरू नापे तौलेजस्ता हुदैनन। आन्दोलनका नारा नारायण गोपालका गीत सुनेजस्ता सन्नाटाले घेरिएका शान्त हुदैनन् । र आन्दोलनमा जब घृणाको मात्रा बढ्दै जान्छ त्यसपछि त झन त्यहाँ सुनिने नारा सत्ताको कुर्सीमा बसेर सुन्न त गार्है पर्छ। तर ती नारा – चौरजहारीमा मारिएकाहरूका विक्षिप्त परिवार, भोकले किर्तीपुर गेटमा सडकमै मृत्युवरण गर्ने सूर्य बहादुर तामाङ र सप्तरीका मलन सदाका परिवारहरूका लागि मलमपट्टी हुन्छन्। आफ्नो देश छिरे वापत प्रहरीद्वारा अर्ध नग्न अबस्थामै विदेशी घुसपैठियालाई जसरी समाइएका सुदुर पश्चिमका अधबैंसे अनि साबिक भन्दा चौबर भाडा दर र क्वारेन्टाइनको पाँच तारे होटेल सरहको शुल्क नभएको कारणले 8×8 को कोठामा प्रेसर कुकरमा आलु उसिनेझैं उसिनिएर बस्ने यो देशलाई रेमिट्यान्स पठाएर थेग्ने र स्वरोजगार बनेर तिम्रो टाउको पनि हलुका बनाउने लाखौं युवा युवतीहरूलाई पनि ती नारा मनोरन्जनकारी नै लाग्छन ऐले।
हो सरकार हो , साविकका राजनीतिक दलले नसमेटेका र आफ्नो खास नेता आफैं भएका हजारौं मान्छेहरू सडकमा आएका छन।उनीहरूका नेता नै उनीहरू भएकाले उनीहरूले उनीहरूकै भाषामा आफ्नो आक्रोश पोखेका छन र त्यो आक्रोशले कोरोनाले तिमीलाई दिएको अमन चयनको वरदानलाई धूलीसात पारिदिएको छ।
आन्दोलनमा घुसपैठ पक्कै भएको छ। यो घुसपैठले मलाई चै अपार आनन्द भैरहेको छ। हामी आन्दोलनमा हण्डर गोता खाएर तन र मन घाइते भएका र बुडो पोयामा लागेकाहरूले अलपत्र छाडेको आन्दोलन अघि बढाउन हाम्रा छोरा छोरीको पुस्ता निस्केको छ।त्यो पुस्ता हामीजस्तो छैन।त्यो पुस्ता राजनीतिक सुझबुझ सहित आउन अलि समय लाग्ला तर त्यसले राजनीति सिक्ने भनेको पनि यसै गरेर हो। पुरानो पुस्ताले नया पुस्तालाई तान्ने कार्यक्रम बनाउन नसकेपछि त्यसले आफै विकल्प खोजेको छ। यो सरकारलाई मात्र होइन बरु अस्तित्वमा रहेका राजनीतिक दल सबैलाई चुनौती हो।
डियर सरकार, आन्दोलनमा भारत, चीन अमेरिका, बालुवाटार, खुमलटार, बालकोट, सानेपा र नागार्जुनको पनि घुसपैठ भएको होला। तर मलाई त्यो घुसपैठ खास लागेको छैन। मेरो ध्यान अराजनीतिक भनिएकाहरूले राजनीति सिक्न थाल्दाको घुसपैठतिरै छ र एक खाले खुसी लागेको छ।खास दर्शन, खास बिचार, खास राजनीतिक उद्देश्य र नेतृत्व विहीनताले आन्दोलनमा अचम्म अचम्मझैं देखिएको छ। अलि बढी आक्रोस, अलि बढी उत्तेजना, अलि अलि अस्लिलताझैं देखिएको छ । मैले अघि पनि भनें, त्यसो त हामी सबैले भनेकै कुरा हो कि- आन्दोलन भद्र, सभ्य, शुशिल, विनम्र र आज्ञाकारी हुदैन। हिजो मुखले आन्दोलनको परिभाषा दिदा त ठीकै लाग्थ्यो। आफैंले कुनै समय गर्दा पनि मजै लाग्थ्यो। तर जव आज भोग्नु पर्यो तव हाम्रो मुख अमिलो भएको छ।

डियर सरकार, लक डाउनलाई धोती लगाइदिएर अक्षम्य अपराध गरे भनेर सरकारको कन्सिरीका रौं ठाडा ठाडा भएका छन रे भन्ने खबर आएको छ। अनि सरकारले छेक थुन र हान ठोकको लागि कडा तयारी गरेको छ रे भन्ने खबर पनि चुहिएको छ । समाचार सायद सत्य नै होला। यत्रो दुई तीहाइको सरकारलाई नटेरेर यस्तो हुलदङ्गा गरेपछि सरकार छ है भनेर देखाउन पनि रिसाउनै पर्यो। अरु बेला अन्तरध्यान हुने सरकार दमनको बेला त निस्कनै पर्यो। सरकार जे गर्छ त्यो सरकारको मर्जी । तर आफ्नो नभए पनि आफ्नै देशको सरकार भएकोले सरकारलाई मेरो के सुझाव छ भने- यस्तो घुसपैठ भएको आन्दोलनको आगोमा दमनको भाषाको पेट्रोल बढी नछर्कनु जाती हुन्छ। किन कि – यी आन्दोलनकारीहरू भर्खर नारेका बहर गोरु जस्ता छन। बढी लाठी चलायो भने यिनले सोइला, जोतारा, नारा हरिस हलो सबै भाँचकुच पार्न सक्छन्। यिनीहरूको आन्दोलनले- #होरी_पछ भनेको भाषा नबुझ्न सक्छ। आगे सरकारको मर्जी !

प्रतिक्रियाहरु