मालिक – बलराम तिमल्सिना

२०७७ बैशाख २७ गते, शनिबार

मालिक हाम्रो घरलाई
आफ्नै घरजस्तो ठान्नु हुन्छ
त्यसैले त मध्यरातमा पनि
ढोका ढकढक हान्नु हुन्छ !

मालिक हाम्रो खेतलाई
आफ्नै खेतजस्तै सोच्नु हुन्छ
त्यसैले त हामीलेभन्दा पहिलै
वहाँ हाम्रो खेत जोत्नु हुन्छ !

मालिक हाम्रा खोलाहरूलाई
आफ्नै खोला सरह बुझ्नु हुन्छ
त्यसैले त गङ्गा जमुनाभन्दा पहिला
कोशी गण्डकी पूज्नु हुन्छ !

मालिक हाम्रो सरकारलाई
आफ्नै सरकारजस्तै चिताउनु हुन्छ
त्यसैले साँझ बिहान दिन रात
नजिकै बसेर सिकाउनु हुन्छ !

मालिक हाम्रो देशलाई
आफ्नो देश सरह नै ठान्नु हुन्छ
त्यसैले त यो दुखी देशको छात्तीमा
कैले लात्ती कैले मुड्की हान्नु हुन्छ !

हामी मात्रै हौं खुनी मान्छे
हामीले मालिकलाई कहिलै चिनेनौं
शासकजस्तो खुरुखुरु शिर झुकाएर
मालिकले भन्या बाटो कैले हिडेनौं !

मालिक निकै दयालु हुनु हुन्छ
हाम्रो परिवारको पनि ख्याल गर्नु हुन्छ
आमालाई नून-तेल
बाउलाई सियो-धागो
र शासकहरूलाई सरकार
हस्तिनापुरबाटै पठाउनु हुन्छ !

हामी मात्रै हो अल्डेब्रा मान्छे
मालिकले त उहिलै भनेकै हो
देश चलाउन दुख छ लाटा हो
देश हामीलाई देऊ हामी चलाइदिन्छौं
तिमीहरूको निधारमा भाग्य फलाइदिन्छौं !

मालिक दयालु हुनु हुन्छ
वहाँ आफ्नो घर कम
हाम्रो घर बढी चलाउनु हुन्छ
वहाँ आफ्नो सरकार कम
हाम्रो सरकार बढी चलाउनु हुन्छ !

शासकहरूले त उहिलै चिने
हामीले पो अहिलेसम्म चिनेनौं
मालिकको बाटो पनि हिडेनौं
हामी आफ्नो बाटो पनि हिडेनौं !

भन्नेहरू जेसुकै भनुन
म त भन्छु-
मालिक दयालु हुनुहुन्छ !
हामी कुम्भकर्ण बन्यौं भनेर
बेला वेला मुखमा पिसाव फेरिदिनु हुन्छ
हामी मालिकको पिसाव
जिब्राले ओठ चाटी चाटी निखार्छौं !

प्रतिक्रियाहरु