कोरोनाबाट ४७ हजारको मृत्यु ,साढे ९ लाख संक्रमित

२०७६ चैत्र २० गते, बिहीबार

काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरि ४७ हजार १९४ को ज्यान गइसकेको छ भने कुल संक्रमित संख्या साढे ९ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै झण्डै ५ हजारको मृत्यु भएको छ । बुधबार विश्वभर ४ हजार ८९० को कोरोनाका कारण मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । सो एक दिनमा नयाँ संक्रमितको संख्या पनि हालसम्मकै उच्च देखिएको छ । बुधबार एकै दिन ७६ हजार ८७२ नयाँ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या ९ लाख ३५ हजार ३४६ पुगेको छ ।
पछिल्लो समय संक्रमण मृत्युदर अमेरिकामा सबैभन्दा उच्च देखिएको छ । त्यहाँ बुधबार मात्र १ हजार ४९ जनाको ज्यान गएको छ भने २६ हजार ४७३ नयाँ संक्रमित फेला परेका छन् । उता इटली र स्पेनमा पनि मृत्यु हुने दरमा कमी आएको छैन । बुधबार इटलीमा ७२७ को मृत्यु भयो भने स्पेनमा पनि ९२३ को मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । इटलीमा नयाँ संक्रमित ४ हजार ७८२ सँगै कुल १ लाख १० हजार ५७४ मा संक्रमण फैलिसकेको छ । स्पेनमा पनि नयाँ संक्रमित ८ हजार १९५ भेटिएसँगै कुल संक्रमितको संख्या १ लाख ४ हजार ११८ पुगेको छ ।
यसैगरी पछिल्लो समय फ्रान्स र बेलायतमा पनि मृत्युदर उच्च देखिएको छ । बुधबार यी दुवै देशमा गरी १ हजारभन्दा बढीको ज्यान गएको छ । फ्रान्समा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ, जसमा ५०९ को मृत्यु पछिल्लो एक दिनमा मात्रै भएको हो । बेलायतमा पनि बुधबार ५६३ को मृत्यु भएसँगै कुल मृतक संख्या २ हजार ३५२ पुगेको छ ।
यसैगरी बढी मृत्यु हुनेमा इरान पनि रहेको छ । त्यहाँ बुधबार १३८ को मृत्यु भएसँगै कुल मृतक संख्या ३ हजार ३६ पुगेको छ । नेदरल्याण्डमा पनि बुधबार १३४ को मृत्य भएको छ भने कुल मृतक संख्या १ हजार १७३ पुगेको छ ।
कोभिडको उद्गमस्थल चीनमा भने मृत्युदर संक्रमण दुवै झिनो देखिएको छ । त्यहाँ पछिल्लाे एक दिनमा ७ नयाँ मृत्यु र ३६ नयाँ संक्रमण देखा परेकाे छ । चीनमा हालसम्म ३ हजार ३१२ काे मृत्यु भएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस एडहानमले विश्वभरि कोरोना भाइरस संक्रमणका बढ्दो घटनाप्रति चिन्ता जाहेर गरेका छन् । उनले भने कि गत एक हप्तामा संसारभरि कोरोनाका कारण हुने मृत्युको संख्यामा ठूलो उछाल आएको छ र त्यो संख्या लगभग दोब्बरले बढेको छ । आगामी हप्तामा यो दर अझै उच्च रहने उनको भनाइ छ ।

प्रतिक्रियाहरु