गृहमन्त्रीको राजीनामा माग

२०७६ मंसिर २३ गते, सोमबार

काठमाडौँ, २३ मंसिर । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’
आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार