अखिल क्रान्तिकारीद्वारा काफ्लेलाई भ्रम सिर्जना नगर्न चेतावनी

२०७६ मंसिर २३ गते, सोमबार

काठमाडौँ, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिले दलाल राज्यको प्रशासन समक्ष आत्मसमर्पण गरेका पदम काफ्लेलाई यसअघि नै संगठनले कारवाही गरिसकेकाले फेरी नाम जोडेर भ्रम सिर्जना नगर्न चेतावनी दिएको छ । अखिल (क्रान्तिकारी)का सेती महाकाली क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इमान्दारीपूर्वक देश र राष्ट्रका निम्ति कार्यक्रममा जुटिरहेको सङ्गठनका सम्पूर्णलाई आत्मसमर्पणवादी र अराजक तत्वको भ्रममा नपरी आन्दोलनको मोर्चामा सशक्त रुपमा डटिरहन विशेष अनुरोध गरेका छन् ।
संयोजक विरेन्द्र शाहले विज्ञप्तिमा भनेका छन्, ‘दलाल राज्यको प्रशासन र प्रहरी समक्ष आफू स्वतन्त्र हुने निवेदन सहित सरकारी नेकपाको संरक्षणमा आत्मसमर्पण गरेर रिहा भएका पदम काफ्लेलाई मिति २०७६ साल कात्तिक ८ गतेका दिन सङ्गठनको कैलाली जिल्ला अध्यक्ष र सम्पूर्ण जिम्मेवारीबाट अनिश्चित कालकालागि निलम्बन गरिएको थियो ।’
शाहले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘इमानदारीपूर्वक सङ्गठनको कारवाही भोग्न र सङ्गठन विरोधी क्रियाकलापमा नलाग्न सचेत गराउदा पनि सङ्गठनको अध्यक्ष नै रहेको प्रचार गर्ने, जिल्ला स्तरका विद्यार्थी नेताहरुको बीचमा भ्रम सिर्जना गर्ने र भडाउने गतिविधिमा रहेका थिए र हाल आएर अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्ष भनेर सरकारी नेकपामा प्रवेश गरेको कुरा आएको छ साथै फर्जी नामावली तयार गरी भ्रम सिर्जना गर्न खोजिएको छ ।’
संयोजक शाहले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘सङ्गठनले कार्वाही गरेका पदम काफ्ले र एकदुई जना अराजक तत्व बाहेक अरु कोई कहिकतै नगएको कुरा सम्प्रेषण गर्दछौं र पदम काफ्लेको सङ्गठनबाट साधारण सदस्यता समेत खारेज गर्दै निष्काशन गर्दछौं । हाम्रो सङ्गठनको नाम जोडर यस्ता लज्जास्पद हर्कत नदोर्होयाउन सचेत गराउदछौ । साथै सङ्गठनका सम्पूर्ण कमरेडहरुलाई आत्मसमर्पणवादी, अराजक तत्वको भ्रममा नपरी आन्दोलनको मोर्चामा शसक्त रुपमा डटिरहन विशेष अनुरोध गर्दछौं ।’

प्रतिक्रियाहरु