‘सरकारले अघोषित युद्ध थाेपर्यो ‘

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौँ , २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुनले राज्यको दमन असफल बन्दै गएको ठोकुवा गरेका छन । जनपत्रकार सङ्गठन, नेपाल सेती महाकाली समन्वय समितिले आयोजना गरेको जनपक्षीय पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै नेता पुनले वर्तमान सरकारले आफ्नो पार्टीमाथि धरपकड बढाए पनि पार्टीका कार्यक्रमहरु नरोकिएको बताए । वर्तमान सरकारको दमनले पार्टीलाई केही प्रभाव पारे जस्तो देखिए पनि आफूहरु फरक ढंगले अगाडि बढिरहेको र यसले पार्टीलाई थप सुद्धीकरण र सुदृढीकरण गर्न सहयोग पुगेको दाबी गरे । उनले अहिले सरकारले अघोषित युद्ध थाेपारेको समेत आरोप लगाउदै भने -’ अहिले राज्यको तर्फबाट अघोषित युद्ध जस्तो छ, हामीलाई जनता र वैधानिक बाटोबाट कटाउने प्रयास गरिएको छ तर हामीले फायर खोलेका छैनौैँ ।’
नेता पुनले अहिलेको सरकार दलालहरुको नियन्त्रणमा रहेको भन्दै यसले जनताको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गरे । नेपाल अहिले विश्व शक्ति केन्द्रको क्रिडास्थल बन्दै गएको भन्दै उनले चिन्ता जनाए । नेता पुनले भारत हिन्दु धर्मको नाममा, पश्चिमा मुलुकहरु क्रिश्चियानिटीको नाममा, चीन बिआरअाईको नाममा र अमेरिका हिन्द- प्रशान्त रणनीति अन्तर्गत नेपालमा आउन थालेको दाबी गरे ।
आफूहरुले १० वर्षसम्म युद्ध लडेर ल्याएको गणतन्त्र र संघीयताले कुनै माग सम्बोधन गर्न नसकेको नेता पुनको जिकिर थियो । उनले भने ,’ हिजो माग राख्ने पक्षहरु बाहिर छन्, जातीय स्वशासन क्षेत्रीय उत्पीडनका पक्षमा आवाज उठाउनेहरु आज बाहिरै छन्, आवाज नउठाउँनेहरु सत्तामा छन्, जसलाई जुन विषय चाहिएकै थिएन उनीहरु सत्तामा रहँदा कसरी जनताका माग सम्बोधन गर्न सक्छ यो अनौठो भएको छ ।’
संघीयताले कुनै कुराको सम्बोधन गर्न नसकेको नेता पुनको ठोकुवा थियो । आफूहरुले अहिले युद्ध नचाहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पुनले क्रान्ति मात्र गर्न खोजेको बताए । उनले एकै खालको मात्र लडाइँ नलडेर अब एकीकृत ढंगले लड्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि बढेको समेत उल्लेख गरे । अहिलेको सरकार निरंकुश बनिरहेको भन्दै नेता पुनले भन्नुभयो,’अहिलेको सरकार पञ्चायतपछि प्रेसप्रति सबैभन्दा अनुदार बनेको छ ।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि पुनले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रशिक्षार्थीलाई जनपत्रकार संगठन,नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, कोषाध्यक्ष जानकी चौधरीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष डुम्रेले सिकेको सीपलाई जनताको पक्षमा प्रयोग गर्न आग्रह गरे । ऊनले पछिल्लो अवस्थामा राजनीतिक द्वन्द्व बढ्दै गएको भन्दै यसको समस्या समाधानमा मिडियाले भूमिका खेल्नु पर्ने धारणा राखे ।
संगठनका महासचिव हिम विष्टले सिकेका सिपलाई ब्यबहारमा उतार्न आग्रह गरे । पछिलो समय मिडियाले पनि राजनीतिक पूर्वाग्रह राखेको भन्दै अब जनपक्षीय पत्रकारले यसलाई चिर्नु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले मिडियामा समस्या रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने जोड दिए । उनले लेखेका भरमा कसैलाई पनि पक्राउ गर्न नपाइने भन्दै पेशागत सुरक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । नेपाल कम्युनिस्ट पार्टीका दार्चुला ईन्चार्ज जीवन, पुर्व सविधानसभा सदस्य पुरन राना थारु,अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सेती- महाकाली संयोजक पूर्णिमा धामी, जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जानकी चौधरी लगायतले मिडिया दलाल पुँजीपतिको कब्जामा गएको भन्दै जनताका पक्षमा कलम चलाउन प्रशिक्षार्थी पत्रकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु