नेपाल र भारतबीचको विवाद संवादबाट समाधान होस्: चीन

२०७६ कार्तिक २९ गते, शुक्रबार

काठमाडाैं, २९ कात्तिक । चिनियाँ दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले विज्ञप्ति जारी गर्दै नेपालको कालापानीलाई भारतले नयाँ नक्सामा गाभेको बिषयमा पहिलोपटक प्रतिक्रिया सार्वजनिक गरेको हो । चीनले कालापानीको विवाद मेत्रीपूर्ण परामर्श र सम्वादका आधारमा नेपाल र भारतले समाधान गर्ने सदिच्छा व्यक्त गरेको छ । उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको पनि स्पष्ट पारेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दूका सम्बन्धमा भने चीनले बोलेको छैन । चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट बिहीबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् । चिनियाँ पक्षले सधैँ नेपाली पक्षको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गरेको छ ।’
चीनबाट नेपाली भूभाग मिचिएको समाचार र टिप्पणिप्रति चिनियाँ दुतावासले असन्तोष पोखेको छ । ‘केही गैरजिम्मेबार मिडिया र व्यक्तिहरुले नेपाली भूमि चीनबाट अतिक्रमित भएको दाबी गरिरहेका छन् । यी आरोप आधारहिन छन् र जनताको ध्यान अन्त मोड्ने गरी भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ ।’ चिनियाँ दूतावासले भनेको छ ।
नेपाल र चीनबीच सन् १९६१ मा भएको सीमा सन्धीको पृष्ठभूमि उल्लेख गर्दै दूताबासले त्यही आधारमा सीमा तय भएको र सीमांकन भएको पनि चीनले भनेको छ । ‘वर्षौँ यता नेपाल र चीनबीच सीमा तथा सुख्खा बन्दरगाहका बिषयमा राम्रो सहकार्य हुँदै आएको छ’ चिनियाँ विज्ञप्तिमा उल्लेख छ, ‘यो वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपतिले सफल राजकीय भ्रमण गर्नुभएको छ । त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनले बाह्य हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । र, नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ । नेपाल चीन सम्बन्धलाई कमजोर पार्ने कसैको प्रयास सम्भव हुनेछैन ।’

प्रतिक्रियाहरु