सर्वोच्चद्वारा विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थित गराउन आदेश

२०७६ कार्तिक २९ गते, शुक्रबार

काठमाडौँ , २९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का काठमाडौँ अध्यक्ष गोविन्द विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थिति गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले कमल विष्टले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सो आदेश दिएको हो । प्रहरीले गैरन्यायीक रुपमा गिरफ्तार गरी हिरासतमा राखेको भन्दै कमल विष्टले रिहाईको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले विहीबार उक्त आदेश दिएको छ ।
विष्टसँगै प्रहरीले शंकरदेव क्यापसमा अध्ययनरत कालिकोटका दयाराम तुवार, सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनरत नवलपरासीका प्रदिपबाबु भट्टराई, पशुपति क्याम्पसमा अध्ययनतर कैलालीका मेघेन्द्र न्यौपानेलाई कात्तिक २४ गते प्रहरीले माइतीघरबाट गिरफ्तार गरेको थियो । चारैजना बन्दीलाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा अदालतमा आदेश दिएको छ ।
विष्टसहित चारैजनाको तर्फबाट वरिष्ठ अधिबक्ता एकराज भण्डारी र अधिबक्ता कपिलचन्द्र पोखरेलले बहस गरेका थिए । भारतले नेपालीभूमी मिचेको विरोधमा शान्तिपूर्ण विरोध कार्यक्रमबाट प्रहरीले गिरफ्तार गर्नु संविधान र कानुन विपरित भएको भन्दै दुबैजना कानुन व्यवसायीले रिहाई गर्नुपर्ने माग गरेका थिए । उनीहरुले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको दाबीसमेत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु