अखिल (क्रान्तिकारी)को बिरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, ४२ जना गिरफ्तार

२०७६ कार्तिक २५ गते, सोमबार

काठमाडौँ , २४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा गरेको प्रदर्शनबाट ४२जना भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा प्रदर्शन गर्नेलाई प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको सार्वजनिक भएको छ । गिरफ्तार हुनेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभात भट्टराई, काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिस्ट, सुवास, धनजन, दयाराम, पूर्णचन्द्र, नवीन बिस्टलगायत छन् ।
भारतले जारी गरेको नक्साविरुद्ध आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दा गिरफ्तार भएका ४२ भन्दा बढी नेकपाका कार्यकर्ता र पार्टी निकट विद्यार्थीलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाउने तयारी गरेको हो । नेपालको झन्डा बोकेर विद्यार्थीले कालापानी, लिम्पियाधुरा र लिपुलेकको माग गर्दै विरोधसभा आयोजना गरेका थिए । लगत्तै प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी लाठी प्रहर ४२ भन्दा बढीलाई नियन्त्रणमा लिएको हो । गिरफ्तारीमा परेकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार र नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा राखिएको जानकारी प्राप्त भएको छ । गत शनिबार भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु