समुद्रमुनिबाट क्षेप्यास्त्रको सफल परीक्षण

२०७६ आश्विन १६ गते, बिहीबार

काठमाडौं, १६ असोज । उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौं परीक्षण हो । उक्त क्षेप्यास्त्र समुद्रमुनिबाट पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बताइएको छ । बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो ।
पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हुनु हो । दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४ सय ५० किलोमिटरको दुरी र ९ सय १० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो ।
यसको अर्थ सो क्षेप्यास्त्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेको स्थानभन्दा दुईगुना माथि पुगेको थियो । तर उत्तर कोरियाले यसअघि पनि त्योभन्दा माथि पुग्नेगरी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । यो परीक्षण उत्तर कोरियाले अमेरिकासँग पुनः परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता सुरु गर्ने बताएको केही समयमा गरिएको थियो ।
उत्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ–३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो ।
यसअघिका परीक्षणमा जस्तो यसपटक नेता किम जङ उनको तस्बिर भने सार्वजनिक भएको छैन । यदि यो क्षेप्यास्त्र आकाशमा नभई जमिनतर्फ परीक्षण गरिएको भए यसले १,९०० किलोमिटर यात्रा गर्ने थियो। अर्थात् उक्त क्षेप्यास्त्र दक्षिण कोरिया र जापानको जुनसुकै भागमा पनि पुग्न सक्थ्यो । तर पनडुब्बीबाट गर्न प्रहार गर्न मिल्ने क्षेप्यास्त्र समुद्रको जुनसुकै भागबाट पनि प्रयोग गर्न सकिन्छ र यसलाई पत्ता लगाउन पनि कठिन हुन्छ । रोएटर्स समाचारसंस्थाका अनुसार सन् १९९० को दशकमा बनाइएका उत्तर कोरियाका पनडुब्बीहरू ७,००० किलोमिटर यात्रा गर्न सक्ने क्षमताका छन् । अमेरिकी विदेश मन्त्रालयले परीक्षणपछि उत्तर कोरियालाई आक्रामक नहुन र ठोस एवम् दीर्घकालीन वार्ताका लागि कदम चाल्न भनेको छ । -बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार