वृद्धको भेषमा अमेरिका जान लागेका युवक पक्राउ

२०७६ भाद्र २४ गते, मंगलवार

काठमाडौं, २४ भदौ । ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो । समाचार एजेन्सीहरुका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका थिए । सेतो कपाल र सेतै दारी–जुंगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।
शंका लागेर चेकजाँच गर्दा उनले अमरीक सिंह नाम गरेका ८१ वर्षीय वृद्धको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको तथ्य प्रकाशमा आएको हो । वृद्धजस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखेपछि सुरक्षाकर्मीले उनीमाथि शंका गरेका थिए । भेष बदलेर उनी किन अमेरिका जान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी दिल्ली प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु