हरितालिका तीज पर्व मनाइँदै

२०७६ भाद्र १६ गते, सोमबार

काठमाडाैँ, १६ भदाै । आज भाद्र शुक्ल तृतीया हरितालिका तीज पर्व । हरेक वर्ष झैँ आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवाधिदेव महादेवको पूज-अर्चना गरी मनाउँदैछन् । आज बिहानैदेखि पशुपति लगायत देशैभरिका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुकाे भीड लागेकाे छ । धुपबत्ती तथा पूजाआजा, नाचगान गरी निराहार व्रत बसी धुमधामले मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको किंवदन्ती अनुसार हिन्दु नारीहरुले समेत व्रत वसेर महादेवको पूजा आरधना गरेर मनाउँदैछन् । आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेवलाई स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने र इच्छाएकाे पति मिल्ने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । पछिल्लाे समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ ।

यसैबीच ,हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।
पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका आज राति लाम नसकिएसम्म खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा लर्को छ । विसं २०६५ देखि भक्तजनका लागि बन्द गरी जल ल्याउन मात्र उपयोग गरिएको पशुपतिनाथको पूर्वी ढोका आजदेखि सधैँका लागि खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको हो । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार मार्गको व्यवस्था गरिएको उहाँले बताउनुभयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशाला तर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । हरितालिका (तीज) पशुपति दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटाइएको छ । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मीसहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएको छ । साना बालबालिकालाई पनि मन्दिरमा नल्याउन पनि कोषले अनुरोध गरेको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायका सवारीलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।
जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ । सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक आज दिनभर बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ ।
तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन । सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार