‘प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण ‘

२०७६ असार ११ गते, बुधबार

काठमाडौं । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, धार्मिक नेता तथा अधिकारीलक्षित प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण रहेको बताएको छ । उसले अमेरिकाको पछिल्लो निर्णयले तेहरान र वासिङ्टनबीचको कूटनीतिक मार्ग स्थायी रुपमा बन्द भएको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायतमाथि थप प्रतिबन्धको घोषणा गरेपछि इरानले उक्त प्रतिक्रिया दिएको हो ।
राष्ट्रपति ट्रम्पले खामेनीप्रति लक्षित नयाँ प्रतिबन्धहरु अमेरिकी ड्रोन खसाल्ने कदमको प्रत्युत्तर भएको दाबी गरेका छन् । ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारको कारण खामेनी भएको जिकिर गरेका छन् । अमेरिकी नयाँ प्रतिबन्ध खामेनी, केही धामिर्क नेता तथा सैनिक अधिकारीलक्षित छ ।
इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी निर्णय निराशाजनक भएको जनाउँदै अमेरिकी राष्ट्रपति कार्यालय मानसिक रुपमा कमजोर रहेको दाबी गरेका छन् । उनले सार्वोच्च नेता लक्षित नाकाबन्दीको कुनै अर्थ नरहेको भए पनि विदेश मन्त्रालयल लक्षित प्रतिबन्धले कूटनीतिक सम्बन्ध संधैका लागि अन्त्य गरिदिएको चेतावनी दिएका छन् । ओमानको खाडीमा गतसाता गरिएको तेल टयांकरलक्षित आक्रमण इरानले गराएको अमेरिकाको दाबी छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले दुबै पक्षलाई कूटनीतिक ढंगले तनाव अन्त्य गर्न आग्रह गरिसकेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु