उपमेयरकै संलग्नतामा नगरपालिकामा तोडफोड

२०७६ असार ८ गते, आईतवार

काठमाडौँ , ८ असार । उपमेयर रेणु झाको नेतृत्वमा गएको टोलीले गएराती महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा राति तोडफोड गरेको बताइएको छ । झाको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो । अन्य दिन नआउने कर्मचारीले शनिबार आएर कार्यालयमा काम गरेको विषयमा विवाद बढेपछि कार्यालयमा उपमेयरकै पक्षको टोलीले तोडफोड गरेको हो । कार्यालयमा मनपर्दी कामकाज गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । शनिबार कार्यालयमा आएर कर्मचारीले काम गरेको तर अन्य दिन कार्यालयमा उपस्थित नहुने गरेको विषयमा सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको बताइएको छ ।
नगरप्रमुख सुनिलकुमार यादवले भने कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको जनाएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए । सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु