मिथिलाञ्चलमा ‘वटसावित्री’ मनाइदै

२०७६ जेष्ठ २० गते, सोमबार

काठमाडौं, २० जेठ । आज मिथिलाञ्चल क्षेत्रमा लोक आस्थाको पर्व वटसावित्री पूजा पतिको दीर्घायुको कामना गर्दै मनाइँदै छ । पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । यो पर्व मनाउनका लागि महिलाहरु आज बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । पर्व मनाउनका लागि बिहानैदेखि विभिन्न बरका रुखमुनि घुइँचो लागेको देखिन्छ । जनकपुरको राम मंदिर, जनक चौक, धनुष सागर लगायतको स्थानमा रहेको वर पीपलको रुख मुनि महिलाहरु पूजा पाठ गर्दै छन् । यस पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाई, फलफूल, चनालगायतका सामग्रीका साथ पूजा गरिन्छ ।
धार्मिकग्रन्थ स्कन्दपुराणमा उल्लेख गरिएअनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले बरकाे रुखमुनि बसेर पूजा गर्दा त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।
अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुखमुनि नै बसेर याे पर्व मनाउने गरिन्छ ।
मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ ।
यो पर्व मनाउनका लागि बेहुलीका लागि घरबाट नयाँ वस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिनी, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिनी देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार