जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी

२०७६ जेष्ठ १९ गते, आईतवार

० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ?

हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि नै नेपालको शिक्षामा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण, मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा, प्राविधिक शिक्षा आदिमा भएको अनियमितता, विश्वविद्यालयमा भइरहेको राजनीतिक भागवण्डालगायतका विषयमा सशक्त रुपमा आन्दोलन अगाडि बढिरहेको अवस्था थियो । सरकार र सत्ता सञ्चालनको ठेक्का लिएका व्यक्तिहरु नै शिक्षालाई व्यापारको रुपमा प्रोत्साहन गर्न उद्यत छन् । एकातिर शिक्षालाई संविधानमा मौलिक हकको रुपमा लेख्ने अर्कोतिर तिनै व्यक्तिहरु जो संविधानमा यसो छ र त्यसो छ भन्नेहरु नै शिक्षाको व्यापारमा लाग्ने अनौठो हर्कत प्रस्तुत गरिरहेको सन्दर्भमा मलगायत ११ विद्यार्थी संगठन सरकारको गलत रबैयाको विरुद्ध खरो उत्रँदै थियौँ । यसरी हेर्दा हाम्रो पार्टीले पनि अहिलेको सामाजिक फासीवादी, दलाल सरकारको विरुद्ध संघर्ष सञ्चालन गरेको र हाम्रो संगठनले पनि नेपालका गरिब जनताको छोराछोरी, शैक्षिक अधिकारको पक्षमा निष्ठाभावका साथ कार्य गरेकोमा उक्त जनपक्षीय कार्यबाट अत्तालिएर मलाई गिरफ्तार गरी भूmठा मुद्दामा फसाउने षड्यन्त्र गरिएको थियो, त्यो षड्यन्त्र आज पराजित भएको छ ।

० तपाईंमाथि प्रहरीले भूmठा मुद्दा लगाउन खोजेको थियो भन्ने थियो नि ?
हजुर ! ११ विद्यार्थी संगठनले शिक्षाका विविध विषयलाई लिएर आयोजना गरेको पत्रकार सम्मेलनबाट मलाई गैरकानुनी तवरले जबर्जस्ती पक्राउपुर्जी समेत नदिई गिरफ्तार गरियो । वास्तवमा हामीसँग अहिलेको सरकार यति धेरै किन डराउनुपथ्र्यो र ! हामीले अहिले अरु के नै गरेका छौँ र ! हामीले त नेपाली जनताका छोराछोरीहरुको वैज्ञानिक, व्यवहारिक, सर्वसुलभ र निःशुल्क शिक्षाको अधिकारको पक्षमा शान्तिपूर्ण ढङ्गले आन्दोलन त गरिरहेका छौँ । के अहिले शिक्षामा कुनै समस्या छैन त ? अहिले नेपालमा सरकारका आसेपासे, नातागोता, नेता, कार्यकर्ताहरु नै शिक्षाको व्यापारबाट मनग्य पैसा कमाउन लागिपरेका छन्, यस्तो हर्कत नगर्न हामीले सरकार संरक्षित शिक्षाका माफियाहरुको विरुद्ध संघर्ष चलाइरहेको बेला हामीलाई गिरफ्तार गर्नु नै पहिलो षड्यन्त्र हो र अर्को गिरफ्तार गरिसकेपछि उनीहरुले राज्यद्रोहको मुद्दा लगाएका थिए, त्यो दोस्रो षड्यन्त्र थियो । शान्तिपूर्ण तरिकाले विद्यार्थी आन्दोलनमा लागेको व्यक्तिलाई राज्यद्रोहको मुद्दा लगाएर फसाउने जो षड्यन्त्र उनीहरुले गरे, त्यो बिलकुल गलत थियो । पत्रकार, विद्यार्थी संगठन, राजनीतिक दल, मानवअधिकारकर्मी सबैले राज्यले गरेको गिरफ्तारीको देशव्यापी आलोचना र विरोध प्रदेर्शन आदिको लहर नै चलेपछि सरकारको त्यो षड्यन्त्र चकनाचुर भएको हो ।
० प्रहरी हिरासतमा तपाईंलाई कस्तो व्यवहार गरियो ?
हाम्रो गिरफ्तारी सरकारको लागि सामान्य विषय थिएन । अहिलेको सरकारको राजनीतिक कोर्समा विमति जनाउँदै नेपाल र हामी सम्पूर्ण नेपालीको वास्तविक सुख, शान्ति र समान अधिकारको लागि वैज्ञानिक समाजवादी राजनीतिक सत्ताको स्थापना गर्नुपर्दछ भनेर राजनीतिक विषयका पक्षपोषण गरेकैले अहिलेको सरकारले हामीलाई अपराधीजस्तो देखेको हो । वास्तवमा त्यो गलत कुरा हो । गिरफ्तारीपछि संविधान र कानुनको पालना गर्ने मात्र होइन, अरुलाई समेत पालना गराउने जिम्मा लिएको नेपाल प्रहरीले अझै आफ्नो कर्तव्यलाई बोध नगरेको पाए । राजनीतिक व्यक्तिलाई अन्य फौजदारी कसुर गरेको व्यक्तिसरह व्यवहार गरिनु दुःखद छ । नेपालको शान्ति, सुरक्षाको जिम्मा लिएका सुरक्षा निकायका साथीहरु खाली जागिरको मात्र मानसिकतामा प्रस्तुत हुनु भएन बरु राष्ट्र र जनताको पक्षमा कसले वास्तविक अर्थमा काम गरिरहेको छ, त्यसको विवेकपूर्ण विवेचना गरी सोहीअनुसार नै उहाँहरु प्रस्तुत हुनुपर्दछ । नेपालको शिक्षामा भएको विकृति र विसंगतिको शिकार स्वयम् सुरक्षा निकायका साथीहरु पनि हुनुभएको छ । यसर्थ, उहाँहरुले पनि परिवर्तनको पक्षमा योगदान गर्नुपर्दछ । तर, अझ पनि केही सीमित अफिसरहरुमा पदको घमण्डले राष्ट्र र जनताप्रतिभन्दा पनि हाकिमप्रति बफादार बन्ने प्रवृत्तिले घर गरेको देखिन्छ । त्यस्ता अफिसरहरु हामीलाई अर्थात् परिवर्तनको आवाजहरुलाई दमन गर्ने, राजनीतिक विषयको आपराधिक समाधानको लागि सरकार र राजनीतिक नेतृत्वलाई समेत हौस्याउने खालका अत्यन्तै गैरजिम्मेवार कार्य गरिरहेको महसुस गर्न सकिन्छ । तर, अधिकांश उच्च तहका सुरक्षाकर्मी र प्रायः सबै तल्लो तहका सुरक्षाकर्मीहरुको कुरा र व्यवहारमा विगतको तुलनामा धेरै नै जिम्मेवार भएको अनुभूति गरेको छ । हिरासतमा बस्दा सुरुका केही दिनहरुमा अपमानित रुपमा मानसिक यातना दिने कोसिस भए तर पछि मैले अहिलेको दलाल सरकारको जबर्जस्ती आदेशको पालना गर्नुपर्ने बाध्यतात्मक पक्षबाहेक नेपाल प्रहरीको हामीप्रतिको व्यवहार त्यति नराम्रो भएन । यसर्थ म ती सच्चा देशभक्त सुरक्षाकर्मी साथीहरुलाई अपिल गर्न चाहन्छु कि सम्पूर्ण आस्थाका बन्दीहरुलाई सरकारजस्तो पूर्वा।।।ध नभई राष्ट्र, जनता र न्यायको पक्षमा अघि बढ्नुहोस् ।
० प्रहरीले तपाईंलाई गिरफ्तार गर्नुको कारण कसरी पुष्टि गर्न खोज्यो र वास्तविकता के थियो ?
वास्तवमा म विद्यार्थीका नेता हुँ । हाम्रो संगठनले शैक्षिक विषयमा काम गर्ने हो, यो कुरा सरकार र प्रहरीसमेतले नबुझेको होइन । अहिलेको सरकारलाई मलाई पक्राउ गर्नुपर्ने बाध्यता किन आयो ? भने हामी नेपाल कम्युनिस्ट पार्टी जसलाई नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्नुभएको छ, सो पार्टीले दलाल संसदीय व्यवस्थालाई अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नुपर्दछ, त्यसपछि मात्र सबै विषयहरु र त्यसमा शिक्षाको पनि सम्पूर्ण विषयको सम्बोधन हुन्छ भनेपछि हामी पनि त्यो विचारमा पूर्ण सहमत भयौँ र यो हाम्रो सहमति सरकारलाई अपराधजस्तो लागेकाले पक्राउ गरिएको हो । सरकारलाई त के लागेको थियो होला भने मलाई गिरफ्तार गरेपछि हाम्रो राजनैतिक विषयलाई अपराधको रुपमा पुष्टि गर्न सकिन्छ । तर, त्यो हुँदैनथ्यो र भएन पनि किनभने वास्तवमा हाम्रा अझै पनि चार लाखभन्दा बढी स्कुल जाने उमेर समूहका नानी–बाबुहरु आर्थिक, सामाजिकलगायत विविध कारणले स्कुलको मुख देख्न पाएका छैनन्, देशमा दुई खालको शिक्षाले निम्त्याएका आर्थिक, सामाजिक विकृति, शिक्षामा व्यापार, पुँजीको पलायन आदि पक्षमा आन्दोलन गर्ने र सम्पूर्ण जातीय, क्षेत्रीय, लिङ्गीय, वर्गीयरुपमा शोषित, पीडित विद्यार्थीको पक्षमा काम गरिरहेको कुरा नै वास्तविक भएकाले उनले जे कुराको पुष्टि गर्न चाहेका थिए, त्यो हुन सकेन ।
० तपाई नेकपा निकट अखिल क्रान्तिकारीको अध्यक्ष हुनुहन्छ । तपाईंको संगठन र मातृपार्टीप्रति वर्तमान सरकार र प्रहरीको कस्तो बुभाई पाउनुभयो ?
शिक्षामा हामीले लिएको विचार भनेको वैज्ञानिक समाजवादी शिक्षा हो र यस्तो शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र दिन सक्दछ । हाम्रो स्पष्ट विचार छ,अहिलेको दलाल, सामाजिक फासीवादी सत्ता नै शिक्षामा भएको सम्पूर्ण वकृति र विसंगतिको एक मात्र स्रोत हो । सरकार र सत्ताको ठेक्का लिएका व्यक्तिहरुलाई जनताको छोराछोरीको शिक्षाप्रति कुनै मलतब छैन, किनकि अहिले नेपालका ४० प्रतिशत नेताका छोराछोरीहरु विदेशमा विश्वस्तरीय शिक्षा हासिल गरिरहेका छन् । हामीले जनताको छोराछोरीको शिक्षाको विषय उठाउँदा ‘संविधानमा शिक्षालाई मौलिक हक’ लेखिदिएकै त छौँ भन्छन् । संविधानमा शिक्षा निःशुल्क र अनिवार्य भनिएको छ । तर, म तिनीहरु जसले शिक्षालाई मौलिक हकको रुपमा लेखिदिएकै त हौँ भन्दछन् सोध्न चाहन्छु , के नेपालमा कुनै एक विद्यालय छ, जहाँ निःशुल्क र अनिवार्य शिक्षा लागू भएको छ ? एक पनि छैन । त्यसकारणले अहिलेको सत्ताले शिक्षामा यसो र त्यसो भन्नु जनतालाई सिधा ठग्ने काम हो । यसरी हेर्दा सरकारले हामीलाई सान्त्वना मात्र राख्नुपर्ने कुनै कारण छैन र राखेका पनि छैनन् । तर, प्रहरीको कुरा गर्दा अधिकांश प्रहरी मित्रहरु हामीले उठाएको शैक्षिक विषयमा सहमत हुनुहुन्छ र सद्भाव पनि देखिन्छ । त्यस्तो हाम्रो पार्टीप्रतिको जो कुरा छ, तपाईं देख्नुहुन्छ कि हाम्रो पार्टीको विचारप्रति यो सरकार यति धेरै असहिष्णु र अनुदार छ कि पार्टी र यसका नेता, कार्यकर्ताविरुद्ध पागलझैँ पछि लागेको छ । पार्टीको सन्दर्भमा नेपालका सुरक्षाकर्मीहरुको थोरै आफ्नोपन ब,,डेको पार्टीको वैज्ञानिक समाजवादी विचारमा सकारात्मक रहेको पाइयो ।
० ११ विद्यार्थी संगठनसँग सहकार्य गर्दै शैक्षिक आन्दोलन उठान गरिरहनुभएको छ । अब कसरी अगाडि बढ्ने सोच्नुभएको छ ?
हामी ११ विद्यार्थी संगठनलाई थप बलियो र शैक्षिक आन्दोलनमा सडक बन्दको रुपमा स्थापित गराउने छौँ । जबसम्म नेपाली जनताका छोराछोरीहरुले पूर्णरुपमा समान, निःशुल्क, व्यवहारिक र वैज्ञानिक शिक्षा प्राप्त गर्दैनन् तबसम्म हामी निरन्तर अथकरुपमा विभिन्न क्रियात्मक आन्दोलनमा अघि बढ्ने छौँ ।
० तपाईंहरुले सोचेजस्तो शैक्षिक परिवर्तन होला त ?
अवश्य हुन्छ, यहाँ मात्र हामी राष्ट्र, जनता र ती विद्यार्थीहरुको पक्षमा समर्पणभावका साथ काम गर्ने अठोट राख्नुपर्दछ । विद्यार्थी आन्दोलनले राष्ट्रिय, अन्तर्राष्ट्रिय शैक्षिक आन्दोलनमा मात्र होइन, राजनीतिक आन्दोलनको समेत नेतृत्व गरेर विजय हासिल गरेको अनगिन्ती उदाहरणहरु छन्, त्यसैले शैक्षिक रुपान्तरण अनिवार्य छ, त्यसैले सम्भव छ ।
० हालै पार्टीले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विद्यार्थी नेता प्रज्वल शाही लगायतको निधन भएकोप्रति तपाईंको के धारण छ ?
प्रज्वल शाही राष्ट्र र जनताप्रति अत्यन्तै माया गर्ने, जनप्रिय नेता हुनुहुन्थ्यो । आँट र साहसका हिसाबले उहाँ सर्वक्षेत्रका हुनुहुन्थ्यो । आफ्ना प्रिय जनता र देशको लागि उहाँ हरेक समय सोचिरहनुहुन्थ्यो । मिलनसार हाँसेर बोल्ने, युवाहरुमा स्थापित, अध्ययनशील, प्रखर र परिपक्व कम्युनिस्ट हुनुहुन्थ्यो प्रज्वल । देश र जनताको लागि उहाँ सहिद हुनुभयो, हामी सबैभन्दा अग्लो हुनुभयो । पार्टी र राष्ट्रलाई ठूलो क्षति भयो । उहाँसँगै सहादत प्राप्त गर्नु हुने कमरेडहरुमा ठूलो निष्ठा र आदेशको अनगिन्ती उदाहरणहरु थिए, उहाँहरुको क्षति पार्टी आन्दोलन र राष्ट्रको लागि अपुरणीय रहेको छ र हामी सबैले उहाँहरुले देखाएको बाटोमा राष्ट्र र जनताको लागि दृढ भएर अघि बढ्नुपर्दछ भन्ने मेरो बुझाई हो ।
० अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
शैक्षिक आन्दोलनमा लागेका हाम्रो संगठनका दर्जनौँ नेता, कार्यकर्ताहरुलाई सरकारले पक्राउ गरेर हिरासत र जेलमा राखेको छ । हाम्रो सम्पूर्ण नेता, कार्यकर्ताहरुको ससम्मान रिहाइको माग गर्दछु र त्यस्ता हर्कत बन्द गर्नु सरकारलाई चेतावनी दिन चाहन्छु । – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु