बिस्केट जात्राको तयारी पूरा

२०७५ चैत्र २७ गते, बुधबार

काठमाडौं, २७ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारी पूरा भएको छ । आठ रात नौ दिन मनाउने जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथका साथै भद्रकालीको रथ निर्माण पूरा भइसकेको छ भने जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट ल्यासिङ्खेलमा ल्याइपुर्‍याइएको छ । सो स्थानमा लिङ्गो ठड्याइनेछ । जात्राका लागि सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइको काम पूरा भएको गुठी संस्थानले जनाएको छ ।
सौरमास (विसं) का आधारमा चल्ने बिस्काः जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा मनाइँदै आएको छ ।
प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा सुरु हुने प्रचलन रहिआएको छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ । भक्तपुरमा बुधबार सुरु हुने प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्वक र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले कार्यदल नै गठन गरी विभिन्न कार्यक्रम, कार्यशाला र छलफललाई तीव्र बनाइएको छ ।

प्रतिक्रियाहरु