‘ क्रान्तिबिना देश र जनताको मुक्ति असम्भव ‘

२०७५ फाल्गुन १२ गते, आईतवार

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्तिबिना देश र जनताको मुक्ति असम्भव भएको ठोकुवा गरेका छन् । उनले क्रान्तिलाई निर्णायक बनाउनु अहिलेको आवश्यकता भएको र त्यो आवश्यकता पूरा गर्नको निम्ति आफ्नो पार्टी क्रियाशील रहेको बताउँदै नेता कार्यकर्ताहरू प्रतिबद्ध भएर लागि राखेको बताएका छन् । उनले भने– “कुनैबेला देश र जनताको पक्षमा खडा भएको नेताहरू त्यसलाई निर्णायक बनाउन नसक्दा नेताहरूमा आउने विचलनता जुन छ, त्यो विचलनताले क्रान्तिकारी पार्टी क्रान्तिकारी नेता र कार्यकर्ता र आमजनताको दुश्मनको कित्तामा पु¥याउने हो । अहिले उहाँहरू त्यही कित्तामा पुग्नु भयो । यो देशको प्रगतिको मुख्य बाधक भनेको दलाल पुँजीपति वर्ग हो । त्यो दलाल पुँजीपति वर्गको सत्ताको प्रतिनिधि गर्ने, व्यवस्थाको प्रतिनिधित्व गर्ने संरचना अहिले देशमा विद्यमान छ र क्रियाशील भइरहेको छ, उहाँहरू त्यहाँ जानु भयो । त्यहाँ गइसकेपछि उहाँहरूले गर्ने अनिवार्य रूपले चाहेर नचाहेर पनि गर्नुपर्ने हर्कत क्रान्ति विरोधी हर्कत नै हो, जनविरोधी हर्कत नै हो । त्यसकारण कुनै बेला क्रान्तिकारी र क्रान्तिको नेतृत्व गरिराखेको नेता अहिले प्रतिक्रान्तिकारी कित्ता र प्रतिक्रियावादी सत्ताको सञ्चालक भएर हिँडिराखेका छन् । क्रान्ति, परिवर्तन र राष्ट्रिय मुक्तिको एजेण्डालाई अगाडि सार्ने, संघर्ष गर्ने त्यो विचार र लाइनलाई अगाडि सार्ने पार्टी र नेताहरूका विरुद्धमा अहिले दमनमा उत्रिएका छन् । यसले के प्रष्ट पार्छ भने उहाँहरूले जति परिवर्तनको कुरा गरे पनि, उपलब्धिको कुरा गरेर जनतालाई भ्रमित गर्ने मूर्खता गरे पनि उहाँहरू जनविरोधी कित्तामा जानु भएको छ र राष्ट्र र जनताका बिरुद्धमा उहाँहरूले दमन, अपराध र गडबडी गरिरहनु भएको छ भन्ने कुराको लाटाले पनि जान्ने बुझ्ने गरी प्रष्टाई भनेको अहिले हाम्रो पार्टी माथिको दमन, हामी नेता माथिको दमन, जनताका बिरुद्धको दमन, भ्रष्टाचार र कमिशनको खेल यसका ज्वलन्त उदाहरणहरू हुन ।”
प्रवक्ता प्रकाण्डले अगाडि भने– “वर्ग र श्रमजीविवर्गको क्रान्तिको इतिहासलाई हेर्नुभयो भने बिसौँ शताब्दीको अनुभव र प्रयोगलाई हेर्नुभयो भने, बिसौं शत्ताब्दीमा भएको विचारधारात्मक विकास र नीतिगत विकासको दृष्टिले हेर्नुभयो भने जनताको तर्पmबाट युद्धहरू पनि सञ्चालन गरिएका छन्, त्यसलाई जनयुद्ध भनेर संश्लेषण गरिएको छ । त्यसको विचारधारात्मक अनुसन्धान र विकास त्यसको संश्लेषण र प्रयोग चिनियाँ कम्युनिष्ट पार्टीले ग¥यो, कमरेड माओले गर्नुभयो । हामीले पनि १० वर्ष जनयुद्ध लड्यौँ । पछिल्लो दिनमा धक्का खाएको क्रान्तिलाई नयाँ ढंगले संगठित गरेर अगाडि जाने अठोटका साथ हामी अघि बढिराखेका छौँ । यो बेलामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका बीसौं शताब्दीका अनुभव र हाम्रै कम्युनिष्ट आन्दोलनको १० वर्षको जनयुद्धको अनुभवलाई पनि संश्लेषण गरेर अहिलेको विश्व र अहिलेको नेपालको ठोस परिस्थितिलाई दृष्टिगत गरेर क्रान्तिको विचार र क्रान्तिको कार्यदिशा भनौँ वस्तुसापेक्ष, समयसापेक्ष विकास नगर्ने हो भने क्रान्तिको इरादा राखेर पनि त्यसलाई पूरा गर्ने भन्ने कुरा धेरै चुनौतिपूर्ण छ । यही कुरालाई दृष्टिगत गरेर अहिले हामीले नेपालमा अगाडि बढाएको क्रान्ति भनेको विश्व सर्वहारा क्रान्तिको एउटा अंग हो । नेपालमा श्रमजीवि जनताको, उत्पीडित जनता, भोकानाङ्गा जनताको क्रान्ति हो । यो क्रान्तिको लाइनलाई हामीले नयाँ ढंगले संश्लेषित गरेका छौं । यसलाई एकीकृत जनक्रान्ति भनेका छौँ । अब हामीले नेपालमा गर्ने भनेको जनताको क्रान्ति हो । हाम्रो कार्यदिशा पनि जनक्रान्तिको हो, हामीले गर्न भनेको क्रान्ति हो ।”
उनले भने– “अहिलेको सबै स्थिति अवस्था हेर्दा जनयुद्ध र जनआन्दोलनबाट स्थापित भएको जनताका अधिकार एकपछि अर्को लुट खसोट गर्ने तिर नै अहिले सरकार र राज्य लागि राखेको देखिन्छ । पछिल्लो दिनमा राष्ट्रघात डरलाग्दो ढंगले बढ्दै गएको छ, जनताको जनजीविका चौपट हुँदै गएको छ । जनताको राजनीतिक अधिकार पनि निश्चित लुटेरा मान्छेहरूले आफ्नो इच्छाको निम्ति त्यसको घाँटी निमोठेर दुरूपयोग गर्ने मूर्खता गरिराखेका छन् । त्यसकारण देश बडो संकटमा छ । राष्ट्रियताको दृष्टिले, स्वाधीनताको दृष्टिले, आर्थिक, सामाजिक राजनीतिक र सांस्कृतिक दृष्टिले पनि देश संकटको भुमरीमा फसिरहेको छ । त्यो भुमरीबाट बचाउनको निम्ति क्रान्तिको प्रक्रियालाई जोडतोडका साथ अगाडि बढाउने उद्देश्य र कार्यक्रममा हामी केन्द्रित छौँ ।
अहिले देशको स्थिति अलि विशिष्ट छ । जनयुद्धका उपलब्धिहरूको रक्षाको निम्ति, जनयुद्धको मर्मलाई नयाँ ढंगले पक्रिनको निम्ति र अबको सन्दर्भमा पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई वैज्ञानिक ढंगले नेपाली समाजमा प्रयोग गरेर नेपालमा श्रमजीवि जनताको लागि रगत बगाउने आममहान् सहिदहरू, घाइते, अपाङ्ग साथीहरूको विचारको प्रतिनिधित्व गर्ने, उहाँहरूको भावना र आकांक्षाको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको आवश्यकता प्रवल बनेर आएको छ । पार्टी त्यसको निम्ति प्रतिवद्ध छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु