ओठ सुन्दर बनाउने भए . . .

२०७५ माघ १९ गते, शनिबार

काठमाडौं, १९ माघ । उमेर तथा अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि समस्या पार्छ । मानिसहरू आफ्नो ओठमा प्राकृतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ ।
कालो हुने कारण
– कफीको अत्यधिक सेवनले समस्या निम्याउन सक्छ । सस्तो र कम गुणस्तरका कृत्रिम सामग्रीको प्रयोग कम गर्नुहोस् । डेट एक्सपायर भएका लिपस्टिकको प्रयोगले पनि समस्या सिर्जना गरेको हुन सक्छ ।
– राति सुत्नुअघि मेकअप हटाउने गर्नुहुन्न भने पनि यसले तपाईंको ओठको रङ बदलेको हुन सक्छ ।
– प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुन सक्छ ।
समाधानका घरेलु उपाय
ओछ्यानमा जानुअगाडि कागतीलाई निचोरेर ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी वा अलिकति मह ओठमा छर्किनुहोस् र कागतीको टुक्रा ओठमा दल्नुहोस् । यसले तपाईंको ओठको पुराना काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ ।
कालो ओठलाई गुलाबी बनाउन चुकन्दर पनि सहयोगी हुन्छ । यसमा भएको स्वाभाविक सेतो तत्वले तपाईंको ओठ चम्किलो बनाउँछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ ।
ओठमा भएका पुराना कोषिका, जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले बिस्तारै घोट्नु राम्रो हुन्छ । तर, यसो गर्दा ओठमा घाउ हुने गरी घोट्नु हुँदैन ।
ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँदा तपाईंको ओठको सुन्दरता बढ्छ । यसका साथै जैतुनको केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ । ओठमा घिउकुमारीको प्रयोग गर्दा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दूध र बेसार मिसाएर लगाउँदा पनि राम्रो हुन्छ ।

प्रतिक्रियाहरु