ट्रम्प र किम जोङ उनबीच दोस्रो भेटवार्ता हुने

२०७५ माघ ५ गते, शनिबार

काठमाडाै, ५ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दुई नेताबीच फेब्रुअरीको अन्तिम साता दोस्रो भेटवार्ता हुने तय भएको जनाएको छ । दोस्रो भेटवार्ताको घोषणा गर्नुअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली वार्ता टोलीका सदस्य तथा नेता किमका विश्वासपात्र किम योङ छोलसँग ह्वाइटहाउसमै छलफल गर्नुभएको थियो । दुई नेताबीच भियतनाममा भेटवार्ता हुनसक्ने बताइएको छ । ट्रम्प र किमबीच पहिलो ऐतिहासिक भेटवार्ता अघिल्लो वर्षको जुनमा सिंगापुरमा भएको थियो ।
त्यस बेला परमाणु निशस्त्रीकरणका विषयमा छलफल भए पनि त्यस विषयमा राम्रो प्रगति हुन सकेको छैन । उत्तर कोरियाली नेता किमका प्रतिनिधि तथा विश्वासपात्र छोलले ह्वाइटहाउसमै पुगेर राष्ट्रपति ट्रम्पलाई चिठी हस्तान्तरण गरेका थिए । छोलले ट्रम्पलाई सुम्पिएको किमको चिठीमा के उल्लेख थियो भन्ने स्पष्ट भएको छैन । तर यही चिठी नै दोस्रो वार्ताको आधार बनेको विश्लेषण गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु