‘ न्याय माग्दा जबरजस्ती बहुला बनाउन खोजियो ‘

२०७५ मंसिर ११ गते, मंगलवार

काठमाडौं , ११ मंसिर । निर्मलाका बुबा यज्ञराज पन्तले आफूमा कुनै मानसिक समस्या नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘न्यायको लागि संघर्ष गर्दा समाजले मलाई जबरजस्ती पागल बनाउन खोज्यो ।’ १३ वर्षीया छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाहीको गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि अनिश्चित धर्ना बसेका यज्ञराज पन्तलाई मानसिक समस्या भएको भन्दै आइतबार काठमाडौं ल्याइएको थियो । उनको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टर भन्छन्, ‘यज्ञराजलाई कुनै मानसिक रोग छैन, मनोसामाजिक परामर्शको खाँचो छ ।’
कञ्चनपुरमा यज्ञराजले ‘अस्वभाविक गतिविधि’ गरेको भन्दै केही मानिसले उनलाई मानसिक रोगी भनेका थिए । जुन सामाजिक सञ्जालमा निकै चर्चित भयो । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मलाका बा, आमालगायत केही अधिकारकर्मी कात्तिक २५ गतेदेखि अनिश्चितकालिन धर्नामा बसेका थिए । धर्नाकै क्रममा यज्ञराजको स्वस्थ्यमा समस्या देखिएको थियो । यद्यपि, यज्ञराजलाई विगतमा पनि कुनै मानसिक समस्या नभएको निर्मलाकी अामा दुर्गादेवी पन्तको भनाई छ । मानसिक समस्या नभए पनि यज्ञराजमा आएको स्वास्थ्यसमस्याबाट आफू थप पीडित भएको दुर्गादेवी बताउँछिन् । छोरी गुमाउनुको पीडा र न्याय नपाउँदाको सकसबीच श्रीमनको स्वास्थ्यमा देखिएको समस्याबाट दुर्गादेवी विक्षिप्त छिन् ।
उपचाररत यज्ञराजलाई भेट्न नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पनि सोमबार शिक्षण अस्पताल पुगेका थिए । उनले निर्मला हत्या प्रकरणका दोषी प्रहरीलाई बर्खास्त गरेर सरकार पन्छन मात्रै खाजेको आरोप लगाए ।
गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पूरा भयो, तर अझैसम्म अपराधी पत्ता लाग्ने संकेत देखिएको छैन ।

प्रतिक्रियाहरु