प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ हुँदै

२०७५ भाद्र २५ गते, सोमबार

काठमाडौं , २५ भदौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाइ हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो । बैठकले आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ । मिश्रविरुद्ध जम्मा ४ वटा उजुरी परेका छन् । जसमा एक उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरलाको मुद्दाको विषय उठाइएको छ । मुद्दामा आफ्ना नातेदारको पक्षमा हुनेगरी आदेश गरेको आरोप लगाइएको छ ।
यस्तै, सोही उजुरीमा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले अछामको कालिकोटमा भएको डिल्ली स्वाँरसहितका चार जनालाई आर्थिक लाभ लिइ फौजदारी मुद्दामा सफाइ दिएको आरोप पनि लगाइएको छ ।
यस्तै, एनसेल लाभकर विवाद जारी रहेका बेला लाभांश लैजान दिने आदेश गरेको, सूर्य नेपालको कर छली मुद्दामा कम्पनीलाई नै साथ दिएको पनि सोही उजुरीमा उजुरीकर्ताको आरोप छ । यस्तै, अर्का एक उजुरकर्ताले त्रिभुवन विश्वविद्यालयको उप–प्रध्यापकको परीक्षामा प्रश्नपत्र विक्रीको आक्षेप लागेका व्यक्तिका पक्षमा आदेश गरेको आरोप लगाएका छन् । आरोपित व्यक्ति स्वयं परीक्षार्थी समेत रहेको अवस्थामा आवश्यक प्रमाण समेत नबुझी फैसला गरेको आरोप उजुरीकर्ताको छ । यस्तै, अर्का एक उजुरीकर्ताले वैदेशिक रोजगार न्यायाधीकरणले गरेको फैसला कार्यान्वयनको सिलसिलामा मिश्र काठमाडौँ जिल्ला अदालतमा प्रमुख न्यायाधीश रहेका बेला आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।
सुनुवाइपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ । समितिले प्रस्तावित पदाधिकारीलाई दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्न सक्नेछ । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम सुनुवाइ समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदको भदौ ७ गतेको बैठकले मिश्रलाई सिफारिस गरेको थियो।

प्रतिक्रियाहरु