नेकपाका नेता भुजेल र केसीबिरुद्ध बन्दी प्रत्यक्षीकरण रिट दायर

२०७५ भाद्र १८ गते, सोमबार

काठमाडौं , १७ भदाै । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई बिनाकारण सरकारले गैरकानूनी तरिकाले गिरफ्तार थुनामा राखेको भन्दै तत्काल थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । आइतबार दर्ता भएको उक्त रिट निवेदनमा दुवै नेतालाई तुरुन्त रिहाईको माग गरिएको छ । भुजेलको हकमा प्रतिमा भुजेल र केसीको हकमा कृष्णबहादुर विश्वकर्माले रिहाईको माग गर्दै रिट निवेदन दर्ता गरेका हुन् । नेताद्वयलाई राज्यले गैरन्यायिक ढंगले थुनामा राखेको जनाउँदै अविलम्ब रिहा गर्न रिट निवेदनमा माग गरिएको छ । नेकपाकी नेतृ भुजेललाई यही भदौ १२ गते काठमाडौंको वनस्थलीबाट गिरफ्तार गरी काभेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राख्दै आएको छ भने नेता केसीलाई भक्तपुरबाट साउन २२ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत भक्तपुरको आदेशमा रिहा भएलगत्तै केसीलाई भदौ ३ गते पुनः भक्तपुर प्रहरीले गिफ्तार गरी अनुुसन्धानका लागि भन्दै जगाती प्रहरी हिरासतमा राख्दै आएको छ ।
हालसम्म नेकपाका एक स्थायी समिति सदस्य, पाँच पोलिटब्यूरो सदस्य र ६ केन्द्रीय सस्दयलगायत दर्जानौं नेता कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् । नेकपाले आफ्ना नेता कार्यकर्तालाई सरकारले राजनीतिक प्रतिशोधमा झुठा अभियोगमा गिरफ्तार गरी यातना दिई हिरासतमा राखेको भन्दै सबैलाई बिनासर्त रिहा गर्न माग गर्दै आएको छ । रिहाईको माग गर्दै गएको साउन २९ गते नेकपाले नेपाल बन्द कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । तर सरकारले मागप्रति पूर्ण बेवास्ता गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु