साउन २९ गते नेपाल बन्द

२०७५ श्रावण २३ गते, बुधबार

काठमाडौं, २३ साउन । नेकपा कम्युनिष्ट पार्टीले प्रवक्ता प्रकाण्ड गिरफ्तारप्रति आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेको छ । उसले यही साउन २९ गते नेपाल बन्दको घोषणा समेत गरेको छ । यस बिषयमा महासचिब विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई मिच्दै ओली प्रचण्ड सरकारले कायरतापूर्ण गिरफ्तारी गरेको भन्दै आपत्ति समेत जनाएका छन् । साथै उनले बिनाकारण गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डसहित सम्पूर्ण पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र अन्य नेता कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिएका छन् ।
‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रवक्ता प्रकाण्ड, पीबीएम कमरेडहरु, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।’ महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ – ‘अन्यथा पार्टी फासिवादी दमनको सशक्त बिरोध गर्ने चेतावनी दिन चाहन्छ ।’
केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउदै गएको भन्दै महासचिव विप्लवले सरकारको यसप्रकारको रबैयाको कडा प्रतिवाद गर्न पनि सबै साच्च लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई आवहान गरेका छन् ।
जनताको अपुरो राजनीतिक अधिकार प्राप्तिका लागि नेकपा लागिपरेको भन्दै उनले यो अभियानलाई कुल्चने अथवा दमन गरेर सिध्याउने दुस्स्वप्न नदेख्न समेत ओली-प्रचण्डलाई चेतावनी दिएका छन् । जनतामाथि लुट मच्चाउनेहरुको लुटको स्वर्ग छिट्टै ध्वस्त हुने समेत विप्लवले बताएका छन् ।
ओली सरकारको दमनबिरुद्ध उनले चरणबद्ध संघर्षको घोषणा समेत गरेका छन् । प्रवक्ता प्रकाण्डलाई प्रहरीले मंगलबार राति साढे ७ बजे काठमाडौंको टौदहबाट गिरफ्तार गरेको हो । प्रहरीले प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई समेत गिरफ्तार गरेको छ । विप्लवले प्रकाण्डको गिरफ्तारीविरुद्ध साउन २५ गतेदेखि चरणवद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु