नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकता , जनयुद्ध दिवससँगै मनाउने

२०७४ माघ २२ गते, सोमबार

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीच कार्यगत एकता गर्दै जनयुद्ध दिवससँगै मनाउने सहमति भएको छ । दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने सहमति भएको छ । छलफलमा क्रान्तिकारी माओवादीका तर्फबाट अध्यक्ष मोहन बैद्य र नेकपाका तर्फबाट प्रवक्ता प्रकाण्डसहितको टोली सहभागी रहेको थियो । छलफलमा दुई पार्टीका बीचको एकताका बारेमा कुरा भएको बताइएको छ । साथै एकता सम्पन्न नभएसम्मका लागि दुई पार्टीले कार्यगत एकता गर्ने सहमति भएको छ । सो अनुसार फागुन १ गते दुबै पार्टीको संयुक्त कार्यक्रम आयोजना गर्ने बताइएको छ । २०५२ साल फागुन १ गते नेपालमा तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सशस्त्र जनयुद्धको थालनी भएको थियो । सो दिनलाई माओवादी पार्टीहरुले भव्य दिवसका रुपमा मनाउँदै आएका छन् । यसपटक पनि दुई पार्टीले फागुन १ गते संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने निर्णय गरेका हुन् ।
त्यसैगरी दुई पार्टीले अबदेखि संयुक्त रुपमा भ्रष्टाचारका विरुद्ध संघर्ष गर्ने भएका छन् । आफ्नो पद र शक्तिको दुरुपयोग गरी अवैध तरिकाबाट अकूत सम्पती आर्जन गर्नेहरु दिनहुँ बढिरहेको र तिनै मानिसहरुको देशमा हाली मुहाली बढेको बताउँदै दुई पार्टीले उनीहरुको जनतामाझ भण्डाफोर गर्नुका साथै कारवाही पनि गर्ने बताएका छन् ।
हालै भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति पनि दुई पार्टीले कडा टिप्पणी गरेका छन् । यो भ्रमणले एकातिर नेपालमा भारतीय हस्तक्षेप बढेको संकेत गरेको र अर्कोतिर नेपालमा सबै दल र तिनका शीर्ष नेताहरु लम्पसार परेर भारतप्रति आत्मसमर्पण गर्न पुगेको दुई पार्टीले बताएका छन् । भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला राष्ट्रियताको पक्षमा अडान लिएको भन्दै जनतामाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न खोजेका एमाले अध्यक्ष केपी ओली पछिल्लो समय झनै सबैभन्दा अगाडि बढेर भारत सामु झुकेको दुई पार्टीले बताएका छन् ।
ओली आफ्नो नेतृत्वमा सरकार बनाउन भारत गुहार्न पुगेको यी घटनाबाट प्रष्ट भएको निष्कर्ष दुई पार्टीले निकालेको नेकपाका प्रवक्ता प्रकाण्डले बताए । उनले ओलीको राष्ट्रवाद खोक्रो र मौसमी रहेको यो घटनाले प्रष्ट पारेको बताए । ओलीमा सत्ता र शक्तिभन्दा देशको माया धेरै तल देखिएको उनको भनाई छ ।
कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले अब नेपालमा बढ्दै गएको भारतीय हस्तक्षेप र नेपालका संसदवादी नेताहरुको आत्मसमर्पणवादी चरित्रका विरुद्ध अब संघर्ष गर्ने बताए । उनले अब नेपालमा भारतीय डिजाइनमा विभिन्न राजनैतिक परिघटनाहरु बढ्दै जाने र त्यसले देशको अस्तित्वमा संकटमा पर्नेतिर गएको भन्दै यसप्रति सचेत हुन आम जनतालाई आग्रह पनि गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु