‘कांग्रेसले मुलुकलाई कंगाल बनाउन लाग्यो ‘

२०७४ माघ १२ गते, शुक्रबार

काठमाडौँ, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् । कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको ओलीले बताए । भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहितविपरीतका निर्णयहरुलाई आगामी सरकारले खारेज गर्नेसमेत उल्लेख गरे । उनले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब रुपैयाँ खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन खोजिएको भन्दै विरोध जनाए । ओलीले आफू ‘गाई कि त्रिशूल’ गरेर राजनीतिमा नलागेको भन्दै देशको विकास गर्न आएको बताए । उनले संविधान संशोधन भयो भने आफ्ना मुद्दाहरु सकिने डरले मधेसवादी दल त्यसबाट पन्छिन खोजेको आरोप पनि लगाए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नैतिकताका आधारमा देउवा सरकारले राजीनामा दिनुपर्ने जिकिर गरे । यस्तै, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘कांग्रेस अबको पाँच वर्षका लागि प्रतिपक्षमा बस्छ’ भन्दै ढुक्क भएर सरकार चलाउन तर पद बाँडफाँटमा अल्झेर वाम गठबन्धन नफुटाउन शुभकामना दिए । कार्यक्रममा देशभरका ३०० भन्दा बढी सामुदायिक रेडियोका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु