विद्यार्थीलाई पोषणयुक्त चामल

२०७४ माघ १ गते, सोमबार

काठमाडौं, १ माघ । शिक्षा मन्त्रालयले माघ पहिलो सातादेखि विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने भएको छ । दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको शिक्षाका लागि खाद्य कार्यक्रमले नयाँ स्वरुपमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ मन्त्रालय अन्तर्गत शिक्षाका लागिथ खाद्य परियोजना संचालनमा छ । परियोजनाका कार्यकारी निर्देशक विष्णुप्रसाद भण्डारीका अनुसार डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, दैलेख, जाजरकोट र रुकुममा यो कार्यक्रम सञ्चालनमा छ । ती जिल्लाका बालबालिकाले विद्यालयमा दैनिक खाजा खान पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले खाजाका रुपमा हरेक दिन ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम वनस्पति तेल तथा दुई ग्राम आयोडिनयुक्त नुन पाउने छन् ।
शिक्षा विभागले १८ जिल्लामा दिवा खाजा कार्यक्रम सुचारु राखेको छ । वार्षिक पठन पाठन हुने एक सय ८० दिनका निम्ति उक्त कार्यक्रम लागू छ । विद्यार्थीले खाजाको सट्टा एकमुष्ट नगद नै पाउने व्यवस्था गरिएको छ । हिमाली जिल्लाका बालबालिकाले दैनिक २० रुपैयाँ र अन्य जिल्लाका बालबालिकाले दैनिक १५ रुपैयाँका दरले पाउने विभागका कार्यक्रम तथा बजेट शाखाका अधिकृत अर्जुन ढकालले बताए । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु