२०१७ मा दश लाख पर्यटक नेपाल आउने अनुमान

२०७४ आश्विन १२ गते, बिहीबार

काठमाडौं, १२ असोज । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दसैँ तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दसैँमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् ।
होटल एशोसिएशन अफ नेपालका अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा यो दर ५० प्रतिशत मात्र थियो । यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । दसैँपछि अष्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट बढी पर्यटक आउने व्यवसायीहरु बताउँछन् ।
नेपालमा यतिखेर चाडपर्व भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली स्वेदश फर्किरहेका छन् । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा गैरआवासीय नेपाली संघको ‘ग्लोबल मिटिङ’ भएकाले धेरै प्रवासका नेपाली नेपाल आउने अनुमान गरिएको छ ।
हानका अनुसार देशभर साना ठूला गरी एक हजार २०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालित छन् । अहिले नेपालका होटलमा करिब ४५ हजार शय्या छन् । नयाँ चार हजार शय्या थपिँदैछन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष चन्द्र रिजालले पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पदयात्री तथा संस्कृतिबारे जिज्ञासु धेरै पर्यटक नेपाल आउने गरेको बताउछन ।
पदयात्रा पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त समय हो । दसैँ, तिहारजस्ता पर्व पनि यसै बेला पर्ने भएकाले दसैँको संस्कृति बुझ्न कतिपय विदेशी पर्यटक आइरहेका हुन्छन् । त्यस्तै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ ।
टानका अनुसार पदयात्री पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० देखि ४० प्रतिशतले बढेको छ । अहिलेको मौसम हिमाल आरोहणका लागि पनि उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यतिखेर मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न विदेशी पर्यटक आइरहेका छन् ।
विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अहिले ८० भन्दा बढी आरोहण दल विभिन्न हिमाल तथा शिखर चढ्न आएका छन् । पर्वतारोहणका लागि आउने पर्यटकका कारण पनि अहिले चहलपहल बढेको छ ।
दश लाख पर्यटक पुग्ने अनुमान
सन् २०१७ मा १० लाख पर्यटक भित्रिने व्यवसायीको प्रक्षेपण छ । होटल बुकिङ र पर्यटक आगमनलाई आकलन गर्दा १० लाख पर्यटक पुग्ने अवस्था रहेको हानका महासचिव विनायक शाह बताउनुहुन्छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।
सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
सन् २०१७ को पहिलो आठ महिनाको अवधिमा करिब आठ लाख पर्यटक आइसकेको अनुमान छ । सन् २०१६ मा साढे सात लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो अनुपातलाई आधार मानेर नेपाल पर्यटन बोर्डले सन् २०१७ मा १० लाख पर्यटक नेपाल आउने अनुमान गरेको छ ।
“पर्यटकीय पूर्वाधारले साथ दियो भने १० लाख पर्यटक सहजै पुग्ने अनुमान व्यवसायीको छ, विमानस्थल र बाटोघाटो राम्रो भएको खण्डमा हामी लक्ष्यमा पुग्छौँ, यसमा सरकारले पूर्वाधारको क्षेत्रमा ध्यान दिनुपर्छ” – महासचिव शाहले भने ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अनुकूल वातावरण भएको र निजी क्षेत्रले लगानी पनि बढाएकाले पर्यटक आगमनको अवस्था विगतमा भन्दा राम्रो रहेको बताए ।

प्रतिक्रियाहरु