किसानहरू – वैरागी जेठा

२०७४ असार १५ गते, बिहीबार

किसानहरू
मानव सभ्यता विकाससँगसँगै
आफ्ना पसिनाहरू बगाइरहेछन्
लिखुझैँ
किसानका पसिना पिएर
प्यासका र्तिसना मेटाइरहेका
जमिन्दारहरू
रातो अनुहार बनाएर
उनीहरूलाई
माटोमा हलगोरु जस्तै
जोतिरहेकाछन्
प्यारा किसानहरूलाई !
हेर्दाहेर्दै आँखाहरू जगमगाउँछन्
ठूलो भेलमा
उनीहरू बगिरहेका
दृष्यहरू उभिन्छन्
मेरो हृदयमा
मानवता हराएको समयमा
किसानका कथा वाचन गरिरहँदा
उल्लू हुनसकिन्छ
एककचौरा मोही पिएर
दिनभर जोतिरहन्छन्
एउटा हली दाई !
सन्तोष लिएर
निथ्रुक्क भिजेका हली भाइका पिठ्यूँले
हिउँ पग्लिएझैँ पग्लिएको छु
उकालो ,ओरालो
गोरेटा बाटाहरू
काइले छपक्क ढाकेकाछन्
मन पाक्छ र झर्छ
सिरुका पातहरूमा तरर
हलोजुवा र हरिषहरू बोकेर
मेला झरिहेका
दाजु भाइहरू
आमा ,दिदी ,बैनी
भाउजु र बुहारीहरूले
गाएका असारे भाकाहरू
बिस्तारै उठाउँछन्
एउटा कविलाई !
ऊ लेख्छ ,उनका कविताहरू
थकित जिऊहरू लिएर
एकघण्टा परको कुवामा
माटाका गाग्रीहरूलिएर जाँदा
रजनीहरूमा
एकनास झ्याउँकिरी र स्यालहरू
चिच्याइरहेका हुन्छन् ।
समसाँझमै निदाएका तरुलताहरूका
भोका पेटहरू
एकडल्लो ढिँडो पर्खिरहेका हुन्छन्
किसानका अँगेनामा
अझै आगो बलेको हुँदैन
सुमुम्याउँदै रात वित्छ र
उज्यालो हुन्छ ।
सूर्यले गाग्रीको पानी देख्दैन
साँझमा रित्तो गाग्री भएर उभिरहेकी हुन्छे
हृदयको गग्रेटोमा !
किसानहरू
मुटुभरि दःुख च्यापेर
खेतमा जोतिइरहेको हुन्छ
श्रमको खातिर ।

प्रतिक्रियाहरु