लहना पञ्चबीर पुरस्कार प्रा. माणिकलाल श्रेष्ठलाई प्रदान

२०७३ चैत्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ चैत । यस बर्षको लहना पञ्चबीर पुरस्कार प्रा. माणिकलाल श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल भाषाको रंगीन साप्ताहिक ‘लहना’को चौथो बार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा नेपाल भाषा, संस्कृतिको अध्ययन, अध्यापन एवं पत्रकारिता क्षेत्रमा समेत सक्रिय रही पुर्‍याएको योगदानको कदर गर्दै पञ्चबीर सिंह तुलाधरद्वारा स्थापित २० हजार २ सय २२ नगद राशीको सो पुरस्कार प्रा. श्रेष्ठलाई प्रदान गरिएको हो ।
भिभा बैंक्वैटमा आयोजित उक्त कार्यक्रममा लक्ष्मण गमालद्वारा स्थापित १० हजार नगद राशीको ‘लहना धर्म मोति पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका सम्पादक राजु शाक्यलाई, सूरबहादुर श्रेष्ठद्वारा स्थापित १० हजार नगद राशीको ‘लहना सूर सम्मान’वरिष्ठ सिने पत्रकार एवं निर्देशक विजयरत्न (असंबरे) तुलाधरलाई र मोहिनी श्रेष्ठद्वारा स्थापित १० हजार नगद राशीको ‘लहना मोहिनी पुरस्कार’ राष्ट्रिय समाचारपत्रका सहसम्पादक सुनील महर्जनलाई प्रदान गरियो ।
कार्यक्रममा बोल्नु हुँदै कवि दुर्गालाल श्रेष्ठले जातिय अधिकार, भाषिक समानता र सांस्कृतिक अधिकार प्राप्तीको लागि सबैभन्दा सशक्त हतियार भनेकै जातीय गौरव र स्वाभिमान रहेको उल्लेख गरे । प्रमुख अतिथि कवि श्रेष्ठले राजनीतिक र ब्यक्तिगत स्वार्थबाट टाढा रही माटोसँगको भावना बुलन्द गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गायकहरु भीमतुलाधर, सुरजवीर बज्राचार्य, रीता महर्जन, दीपा महर्जन, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय, निशान्त गौचन (बिटबक्सर), पंकज डंगोल, रुपेन श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए भने कृपा बज्राचार्य, सुरेन्द्र बसेल, आराध्यलक्ष्मी खड्गी र मिजलामानन्धर नृत्य प्रस्तुत गरेका थिए ।
बौद्धिक अपाङ्ता भएकी लचना चित्रकारले विभिन्न धुनमा ताल वादन प्रस्तुत गरेका थिइन् ।
लहना साप्ताहिकका सम्पादक जुजुमान महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षाविद् राजु महर्जनको विशेष अतिथिको रुपमा उपस्थिति थियो । कार्यक्रममा प्रकाशक नृपेन्द्रलाल श्रेष्ठले स्वागत मन्तब्य र कार्यक्रममा ब्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने लेखक, सहभागी कलाकार तथा विज्ञापनदाताहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

प्रतिक्रियाहरु