स्मार्ट ज्याकेट आउँदै

२०७३ चैत्र ४ गते, शुक्रबार

काठमाडौं, ४ चैत । तपाइँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने अब स्मार्ट ज्याकेट पनि लगाउन पाउनुहुनेछ । संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र लिभाइज कम्पनी मिलेर अत्याधुनिक सुविधासम्पन्न ‘कनेक्टेड स्मार्ट ज्याकेट’ बनाउँदैछन् ।
यसै वर्षको अन्त्यसम्म गुगलले ‘ज्याक्कुयार्ड प्रोजेक्ट’मार्फत् स्मार्टफोनमा उपलब्ध सुविधासहित स्मार्ट ज्याकेट बजारमा ल्याउन लागेको हो । कनेक्टेड स्मार्ट ज्याकेट एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स इलेक्ट्रोनिक्स प्रविधिमा आधारित रहेको गुगलले उल्लेख गरेको छ । ‘कन्डक्टिभ फाइबर’ प्रयोग गरिएको धागोबाट बनाइएको कपडाबाट ज्याकेट सिलाइएको छ । ज्याकेटलाई ब्लुटुथमार्फत् स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ । आफ्नो गोजीबाट मोबाइल नझिकिकन सजिलै कुराकानी गर्न सकिने उक्त ज्याकेटमा सेन्सरसहितको टचस्क्रिन प्रयोग गरएको छ । धुनसमेत मिल्ने स्मार्ट ज्याकेट फोनमात्र नभइ अरु प्रविधिहरुसँग पनि जोड्न सकिने गुगलले उल्लेख गरेको छ ।
गुगल ज्याक्कुयार्ड प्रोजेक्टकाअनुसार ज्याकेटमार्फत् अनलाइन बस्न मिल्ने, भिडियो तथा फोटो खिच्न मिल्ने, विभिन्न एप्लिकेसन चलाउनसमेत मिल्ने सुविधाहरु राखिएको छ । गुगलले यस स्मार्ट ज्याकेटको प्रतिज्याकेट मूल्य ३५० अमेरिकी डलर तोकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु