पत्रकार महासंघ ललितपुरमा तालाबन्दी

२०७३ फाल्गुन २७ गते, शुक्रबार

काठमाडौं, २७ फागुन । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा चार पत्रकार संगठनले तालाबन्दी गरेका छन । महासंघका महासचिव उजिर मगर र ललितपुर अध्यक्ष लेखनाथ न्यौपनाले किर्ते सदस्य खडा गरेको, क्रियाशिल पत्रकारको मानमर्दन गरेको, सदस्यताबाट बञ्चित गरेको भन्दै पत्रकारहरुले बिहीबार तालाबन्दी गरेका हुन् । शाखामा क्रियाशिल चार पत्रकार संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरेर पाँच बुँदे माग राख्दै अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
विज्ञप्तिमा प्रेस चौचारीका जिल्ला अध्यक्ष डिल्लीराम आचार्य,क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य रामशरण न्यौपाने, प्रेस युनियनकी अध्यक्ष जानुका बराल र प्रेस सोसाइटीका जिल्ला संयोजक गणेश आचार्यले हस्ताक्षर गरेका छन् ।
‘नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाको अधिवेशन २०७३ चैत्र १ गते हुन लागेको सर्ववितितै छ । अधिवेशनको सम्मुखमा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेलाई साथ लिएर केन्द्रीय महासचिव उजिर मगरको मनखुसीमा ललितपुरमा क्रियाशिल पत्रकारको मानमर्दन गर्ने, सदस्यताबाट बञ्चित गर्ने, मनोमानी ढंगले सदस्यता स्थानान्तरण गर्ने, किर्ते सदस्य खडा गर्ने जस्ता गैर जिम्मेवारपूर्ण हर्कत जारी राखेकोप्रति हामी घोर भत्र्सना गर्दै यस्तो कार्यप्रति खेद प्रकट गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।
नियोजित षडयन्त्रसहितको गैरकानूनी र जालसाजीपूर्ण हर्कत सच्याइ आइन्दा श्रमजीवि पत्रकारहरुको हक अधिकार र आस्थामाथि हस्तक्षेप नगर्ने क्षमायाचना सहितको सार्वजनिक प्रतिवद्धता सहित् अवैध निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु