क्रान्ति, नयाँ र सशक्त ढंगले अगाडि बढ्छ – प्रकाण्ड, प्रवक्ता– नेकपा (माओवादी)

२०७३ फाल्गुन १ गते, आईतवार

० जनयुद्ध दिवसकै अवसर पारेर पार्टीको महाधिवेशन आयोजना गर्नु भएको छ, कारण के हो ?
फागुन १ गते नेपालको सर्वहारावर्ग र शोषित, पीडित जनताको निम्ति, हाम्रो राष्ट्रको मुक्तिको निम्ति एउटा ऐतिहासिक दिन हो । सामान्यतः सुगौली सन्धिदेखि यता पराधीनताको पर्खालमा घेरिएको हाम्रो राष्ट्रियता सन् १९५० देखि अहिलेसम्म अर्थात् प्रचण्डको मोदीसँग भएको २५ बुँदे सहमतिसम्म आउँदा डरलाग्दो घातमा परेको छ । त्यसकारण यो राष्ट्रको सम्पूर्ण मुक्तिका निम्ति नेपाली जनताले आफ्नै पार्टी अर्थात् तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सशस्त्र संघर्ष सुरु गरेको दिन हो । फागुन १ यस्तो दिन हो, नेपालमा सबै शोषित, पीडित जनताले आफ्नो मुक्ति निम्ति, आफ्नो राज्यसत्ताको निम्ति, आफ्नो शासन व्यवस्थाको निम्ति, समृद्ध नेपालको निर्माणको निम्ति राज्यसत्ताका विरुद्धमा धावा बोलेको दिन हो । त्यसकारण नेपाली क्रान्तिको सद्भाव र नेपालको राष्ट्रिय मुक्तिको सन्दर्भमा फागुन १ गते भनेको ऐतिहासिक दिन हो । यस कारण हामीले फागुन १ गतेलाई रोजेका हौँ । अर्को, फागुन १ गते नेपाली जनताको महान् पर्व पनि हो । पछिल्लो समयमा नेताहरूले नै गद्दारी गरे, धोखा दिए र विचलित भएर मात्र हो, नत्र फागुन १ गतेलाई नेपाली जनताको महान् सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका थियौँ र हामीले स्थापित गर्दै पनि आएका थियौँ । त्यस अर्थमा पनि हामीले फागुन १ गतेलाई रोजेका हौँ । अर्को कुरा, हाम्रो पार्टीको आठौँ महाधिवेशन आफैँमा महान् र ऐतिहासिक छ । यो क्रान्तिकारी पार्टीको महाधिवेशन हो । क्रान्तिकारी पार्टीको महाधिवेशन नेपाली राजनीति र नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा आवश्यकता भन्नुस् या संयोग हाम्रै पार्टीले आयोजना गर्नुपर्ने भयो । त्यसको सम्पन्नता हाम्रै पार्टीले गर्नुपर्ने भएको छ । त्यसकारण यो ऐतिहासिक कार्यको निम्ति पनि हामीले फागुन १ लाई रोजेका हौँ । फागुन १ गते सुरु भएको क्रान्तिमा नेपालका झण्डै १० हजार सहिदहरूले आफ्नो रगत बगाउनु भएको छ । पार्टीको र म आफ्नोतर्फबाट यो दिनको स्मरण गर्दै सहिदहरुप्रति श्रद्धाभावका साथ श्रद्धाञ्जली व्यक्त गर्दछु । हामीसँग हजारौँ घाइते, अपाङ्ग र बेपत्ता साथीहरू हुनुहुन्छ । बेपत्ता, घाइते र अपाङ्गहरूको सम्मान गर्दै स्मरण गर्न चाहन्छु । र, यो दिनलाई नेपाली क्रान्तिको सन्दर्भमा फेरि पनि ऐतिहासिक बनाएर लैजाने पार्टीको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।
० महाधिवेशन उद्घाटन समारोह काठमाडौँमा गर्ने र बन्दसत्र रोल्पाको थवाङमा गर्ने कार्यक्रम रहेछ, कतै फेरि पनि जनयुद्धकै संकेत गर्न खोजेको त होइन ?
क्रान्तिको प्रवृत्तिको दृष्टिले त त्यो पनि भन्न सक्नुहुन्छ । तर, यो त हामीले २०७३ सालको फागुन १ मा गर्दैछौँ । महाधिवेशनलाई यसो गर्न हामीलाई हाम्रो कार्यदिशा, एकीकृत जनक्रान्तिको कार्यदिशाले गाइड गरेको छ । काठमाडौँमा हजारौँ जनताको सामुमा उद्घाटन समारोह गर्नुस् र नेपालको क्रान्ति, जनयुद्धको केन्द्रबिन्दु थवाङमा जनताको माया, जनताको व्यवस्थापन, जनताको सुरक्षामा बन्दसत्र गर्नुस् भन्ने हाम्रो कार्यदिशाले निर्देश गरेको छ । यस अर्थमा हामीले घोषणासभा काठमाडौँमा तय ग¥यौँ भने बन्दसत्र थवाङमा गर्ने भयौँ । हामीले चाहेको क्रान्ति हो । यसको अर्थ के पनि हुन्छ भने सहरमा पनि राजधानी भनिने सहर र ग्रामीण क्षेत्रमा पनि विगतमा एउटा क्रान्तिको नेतृत्व गरिरहेको रोल्पाको थवाङ थियो, यी दुईवटैलाई अबको क्रान्तिमा जोड्न हाम्रो विचार, नीति, आकांक्षा र व्यवहारलाई व्यक्त गर्न पनि हामीले काठमाडौँमा घोषणासभा र थवाङमा बन्दसत्र गर्न लागेका हौँ ।
० देशमा एकपछि अर्को राष्ट्रघात भइरहेको छ, वैदेशिक हस्तक्षेप बढिरहेको छ, पछिल्लो समयमा एयर मार्सलको विषयले पनि हंगामा मच्चाएको छ । यस विषयमा के भन्नुहुन्छ ?
पछिल्लो दिनमा इतिहासलाई माथ गर्ने गरी देशद्रोही कार्य, राष्ट्रघाती कार्य र राष्ट्रिय आत्मसमर्पण तीव्र गतिमा अगाडि बढिरहेको छ । अर्कोतिर आपूmलाई सुपरपावर मान्ने र विशेष गरेर भारतीय शासकहरूको नेपाली अतिक्रमण र हस्तक्षेप पनि बढ्दै गएको छ । यी दुवैको पछिल्लो अभिव्यक्ति भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल फोर्स राख्ने भन्नेछ । यो असाध्यै गम्भीर छ । अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने भनेको शान्तिसुरक्षाको दृष्टिले त्यो देशलाई ठाडठाडै चुनौती दिएको हुन्छ भने एयरमार्सलको नाममा मोदी सरकारले नेपालमा भारतीय सेनाको ब्यारेक खडा गर्न खोजेको प्रष्ट हुन्छ । त्यसकारण प्रचण्ड सरकारको आत्मसमर्पण, राष्ट्रघात र मोदी सरकारको हस्तक्षेप हाम्रो पार्टीको निम्ति सह्यै हुनेवाला छैन । यसलाई पूर्णरूपमा खारेज गर्नुपर्छ भनेर हामीले सार्वजनिकरूपमा विज्ञप्ति जारी गरिसकेका छौँ र विरोधका कार्यक्रम पनि गरिसकेका छौँ । यति गर्दा पनि त्यो खारेज गरिएन र जबर्जस्ती गर्न खोजियो भने हाम्रो राष्ट्रियताको रक्षाको निम्ति संघर्ष एउटा मोर्चा यो पनि हुन्छ ।
० तपाईं संघर्षका मोर्चा बनाउने कुरा गर्नु हुन्छ तर तपाईंहरूको कामकारवाहीमाथि निगरानी राख्नुपर्छ, नियन्त्रण गर्नुपर्छ भन्दै मन्त्रिपरिषद्मा प्रस्तावसमेत पुगिसकेको प्रचारमा आएको छ, के भन्नुहुन्छ ?
आपूmलाई संघीय लोकतन्त्रको जामाभित्र रहेको सरकारको नालायकीपन र प्रतिक्रियावादी चरित्रको अभिव्यक्ति हो त्यो । हामी त राष्ट्रिय स्वाधीनताको पक्षमा खडा भएका छौँ । जुन काम सरकारले गर्नुपथ्र्यो । हामी यो देशको आत्मनिर्णयसहितको अर्थव्यवस्थाको पक्षमा खडा भएका छौँ । दिनप्रतिदिन भ्रष्टाचार, कमिसन, कालोबजारी र तस्करी बढिरहेको छ । यस विरुद्ध हामीले खबरदारी गरिरहेका छौँ, जुन काम सरकारले गर्नुपथ्र्यो । अर्कोतर्फ हेर्ने हो भने नेपाली जनताको जनजीविका असाध्यै संकटग्रस्त छ । महँगी, घटाउ भनेर, आधारभूत उपभोग्यवस्तुहरूको मूल्य घटाउ भनेर संघर्ष गरिरहेका छौँ । यस्तो अवस्थामा हाम्राविरुद्ध निगरानी बढाउने, हामीलाई दमन गर्नुपर्छ भनेर तानावाना बुन्नु भनेको सरकारको फासिस्टवादी रबैया हो, यो तुरुन्त रोकिनुपर्छ । अन्यथा नेपाली जनताले प्रतिवाद गर्नेछन् । त्यो प्रतिवादको सामना गर्ने क्षमता यो सरकारको नहुनसक्छ ।
० महाधिवेशनमा पार्टीको नाम फेर्ने विषयमा पनि छलफल हुने बुझिएको छ, वास्तविकता के हो ?
अहिलेको हाम्रो महाधिवेशन ऐतिहासिक र महान् हुन्छ । किनभन्दा नेपाली क्रान्तिको पछिल्लो चरणमा हामी नयाँ चरण र भिन्न चरणमा छौँ । हाम्रो क्रान्तिलाई र नेपाली समाजलाई नयाँ ढङ्गले अगाडि बढाउनको निम्ति हामीलाई विचार नयाँ चाहिएको छ, नीति नयाँ चाहिएको छ । पार्टी संगठन नयाँ चाहिएको छ, कार्यक्रम नयाँ चाहिएको छ । हामीलाई अहिलेको विश्वको नयाँ संश्लेषण चाहिएको छ । पहिलो कुरा, हाम्रो महाधिवेशन विचार विकास गर्ने महाधिवेशन हुनेछ । दोस्रो कुरा, हामीले अबको विश्व साम्राज्यवादको नयाँ ढङ्गले संश्लेषण गर्नुछ । आजभन्दा एक सय वर्ष अगाडि लेनिनले संश्लेषण गर्नुभएको थियो । जसलाई साम्राज्यवाद र पुँजीवादको उच्चतम र मरणासन्न चरण भन्नुभयो । लेनिनले त्यो विश्लेषण गरिसकेपछि सर्वहारा क्रान्तिको र समाजवादी क्रान्तिको चरित्रमा गुणात्मक विकास भएको थियो । यो विश्लेषण गरेको एक सय वर्ष पूरा भइसकेको छ । त्यसैले अहिले हामी विश्वको नयाँ विश्लेषण गरेर नयाँ निष्कर्ष निकाल्दैछौँ । अहिलेको साम्राज्यवाद, पुँजीवादलाई उत्तरसाम्राज्यवाद भन्नुपर्छ भनेर हामीले प्रस्तावित पनि गरेका छौँ । विश्व पुँजीवादविरुद्ध, विश्व साम्राज्यवादका विरुद्धमा सर्वहारावर्गको राजनीतिक कार्यक्रम के हुन्छ ? समाजवाद हिजो किन फेल भयो ? भन्नेमा पनि हामी छलफल गरेर एउटा निष्कर्ष निकाल्दै छौँ । विश्व पुँजीवाद र साम्राज्यवादका विरुद्धमा सर्वहारावर्गको, सबै श्रमजीवि, उत्पीडित जनताको राजनीतिक कार्यक्रमको रूपमा, सत्ता र व्यवस्थाको रूपमा वैज्ञानिक समाजवादलाई विश्वव्यापीरूपमा प्रस्तुत गर्नुपर्छ र यो नै अहिलेको सही कार्यक्रम हुन्छ भन्ने निष्कर्षमा पुग्दैछौँ । अर्को कुरा, हामी स्टालिनको नयाँ मूल्यांकन गर्दैछौँ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पनि हामी नयाँ संश्लेषण गर्दैछौँ । हामी उत्पीडित जातिको सन्दर्भमा पनि नयाँ नीति लिँदैछौँ र पार्टीको बारेमा पनि हामीले नयाँ निर्णय लिँदैछौँ । पार्टीको बारेमा नेपाल कम्युनिस्ट पार्टी भनेर प्रस्तावित गरेका छौँ । रणनैतिक कुरा के हो भने कम्युनिस्ट पार्टी भनेको विश्वको सर्वहारावर्ग र सबै उत्पीडित जनता र राष्ट्रको पार्टी हो । कम्युनिस्ट पार्टी विभागजस्तो हुनुपर्छ । हाम्रो नेपाल कम्युनिस्ट पार्टी पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको एउटा ब्राञ्च (शाखा) हो । त्यसैले विश्व कम्युनिस्ट पार्टीको एउटा ब्राञ्चको रूपमा हामीले यसलाई लैजान खोजेका हौँ र नेपाल कम्युनिस्ट पार्टी भनेर हामीले महाधवेशनमा पार्टीको नाम प्रस्तावित गरेका छौँ । दोस्रो कु्रा, नेपालमा पछिल्लो समयमा एउटा माओवादीले जनतालाई धोखा दिने, क्रान्तिलाई बिसर्जित गर्ने, दलाल पुँजीवादको टाङमा छिर्ने देखिएकोछ, जसको असर इमानदार माओवादी पार्टीलाई पर्ने गरेको छ । यसलाई क्रस गर्न पनि हामीले पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न खोजेका हौँ । हाम्रो यो कम्युनिष्ट पार्टी हो, कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीको रूपमा स्थापित हुन नदिन चाहे संशोधनवाद भन्नुस् या चाहे नवसंशोधनवाद भन्नुस्, चाहे पुँजीवादीहरू भन्नुस् सबै लागिपरेका छन् । यसलाई क्रस गरेर जनताको पार्टी, सजिलो ढङ्गले जनताले बुझ्न सक्ने, पहिचान गर्न सक्ने, सम्झन सक्ने हिसाबले हामीले महाधिवेशनमा पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न प्रस्तावित गरेका छौँ र महाधिवेशनबाट फैसला गर्छौं ।
० नेपाली क्रान्तिको उद्गम थलो थवाङबाट पुनः क्रान्तिले जन्म लिन थालेको हो ?
थवाङको रक्षा गर्ने दायित्व हामी क्रान्तिकारी र हाम्रो क्रान्तिकारी पार्टीको हो । यसकारण जब नेपालमा नयाँ ढङ्गको क्रान्तिको सोच बनाउँछौँ, कल्पना गर्छौं र अगाडि बढाउन चाहन्छौँ, त्यो बेला थवाङ हाम्रो आधार हुन्छ नै । थवाङको हिजोको बलिदान जुन छ, हिजो जुन भूमिका निभाएको थियो, त्यसको रक्षा गर्न चाहन्छौँ र थवाङले चाहेको पूरा गर्न चाहन्छौँ । यस अर्थमा थवाङलाई हामीले नयाँ ढङ्गले अगाडि बढाउन खोजेका हौँ ।
० थवाङबाट फर्कंदा पार्टी अझै दरिलो भएर फर्कने त निश्चित नै देखियो । अब देश र जनताले मुक्तिचाहिँ कहिले पाउँछन् त ?
पछिल्लो समयमा नेपालको कम्युनिस्ट आन्दोलनमा धक्का प्रतिधक्काहरू आए । त्यसले गर्दा नेपाली जनताको नेतृत्व गर्ने पार्टी र जनताको एकता अलिकति कमजोर भएको छ । यसैमा प्रतिक्रियावादी र दलाल संसद्वादीहरूको चलखेल चलिराखेको छ । आगामी क्रान्तिलाई नेपाली समाज र नेपाली जनताको आवश्यकतामा पूरा गर्ने उद्देश्यले पनि हामीले यो महाधिवेशन आयोजना गरेका हौँ । अब क्रान्ति नयाँ ढङ्गले र सशक्त ढङ्गले अगाडि नजाने र नलैजाने हो भने देश र जनताको अस्तित्व धरापमा पर्ने निश्चित छ । त्यसकारण महाधिवेशनपछि हाम्रो पार्टी नेपालको क्रान्ति, राष्ट्र र जनताका बीचमा भइरहेका खराबी विरुद्धमा सशक्त रूपमा अगाडि बढ्छ ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामी महाधिवेशनमा छौँ । यो बेलामा यस पत्रिकाले हाम्रो पार्टीको विचार, महाधिवेशनसँग सम्बन्धित र महाधिवेशनले लिने निर्णयसँग सम्बन्धित विचारहरू जुन छन्, यसलाई आमजनतासमक्ष पु¥याउने अवसर दियो, यसको निम्ति क्षेप्यास्त्र साप्ताहिकलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै, हाम्रो फागुन १ गते हुने महाधिवेशन उद्घाटन कार्यक्रममा उपस्थित हुन आमजनसमुदायलाई पार्टीको केन्द्रीय कमिटी र मेरो व्यक्तिगततर्फबाट समेत हार्दिक निमन्त्रणा गर्दछु ।

प्रतिक्रियाहरु