दर्जन टेलिभिजन च्यानललाई एकसाथ जरिवाना

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौँ, १२ भदौ । पाकिस्तानका विभिन्न १३ टेलिभिजन च्यानललाई एउटै मुद्दामा एकसाथ जरिवानाको फैसला भएको छ । समाचार एजेन्सीहरुका अनुसार पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) पार्टीका नेता तथा पूर्व क्रिकेटर इमरान खानको तेस्रो विवाह भएको दाबीसहित समाचार प्रशारण गरेबापत ती टेलिभिजन च्यानललाई दण्डित गरिएको हो ।
पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले शनिबार यस्तो फैसला गरेको हो । फैसलामा १३ वटै टेलिभिजन च्यानललाई ५–५ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिइएको छ । जरिवाना रकम नतिरेमा टेलिभिजन च्यानलको लाइसेन्स नै रद्द गरिने चेतावनीसमेत दिइएको छ । दुनियाँ न्यूज, जिओ न्यूज, नियो न्यूज, रोयल न्यूज, खैबर न्यूज, च्यानल–२४, च्यानल ९२, न्यूज वन, सच टिभी, रोजे न्यूज, च्यानल–५, जिओ तेज टेलिभिजन लगायत दण्डित भएका हुन् । ती टेलिभिजन च्यानलले गत जुलाइ १२ मा ९३ वर्षीय इमरान खानले लण्डनमा तेस्रो विवाह गरेको झुठो समाचार प्रशारण गरेको बताइन्छ ।
पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणका अनुसार पत्रकारिताको मानकलाई कायम राख्न यस प्रकारको फैसला गरिएको हो । पिटिआइ पार्टीले उक्त समाचारको खण्डन गरेपनि ती टेलिभिजन च्यानलले इमरानको विवाह सम्बन्धी समाचार बारम्बार प्रशारण गरेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु